‘आपराधिक गिरोहले मेरो रिसोर्ट जलाए, छानबीन र कारवाही होस्’ – जितु गुरुङ

पोखराको वर पीपल रिसोर्टका संचालक तथा प्रबन्ध निर्देशक जितु गुरुङले जेनजी आन्दोलनकाक्रममा आगजनी र तोडफोडपछि उक्त घटनामा संलग्न समूहलाई कारवाही हुनुपर्ने बताएका छन् ।

गुरुङले भने, ‘यो आक्रमण वास्तविक जेन आन्दोलनकारीको नभई आपराधिक गिरोहका हो। त्यसैले निष्पक्ष छानबिन गरी दोषीलाई फौजदारी कानुनअनुसार कठोर कारबाही गर्नुपर्छ ।’

गुरुङका अनुसार घटनाका क्रममा रिसोर्टमा रहेका तीनवटा पर्यटक बस तथा तीनवटा गेस्ट कारमा आगजनी गरिनुका साथै रिसोर्टको बार, स्पा, लबी, गेस्ट रुम लगायतका संरचनामा तोडफोड र चोरी भएको छ ।

बारमा राखिएको आयातित मदिरा लुटपाट गरिनुका साथै नगद रकम समेत चोरी भएको र गेस्ट ज्यान जोगाउन भागाभाग गर्नुपरेको उनले बताए ।

उनले स्पष्ट पार्दै भने, ‘वरपिपल रिसोर्टमा मेरो र मेरो परिवारबाहेक कसैको एक रुपैयाँ पनि लगानी छैन । यदि कसैसँग प्रमाण छ भने खुला चुनौती दिन्छु। म कुनै राजनीतिक दलको नभई शुद्ध पर्यटन व्यवसायी हुँ ।’

गुरुङले पर्यटन सिजन सुरु भएसँगै अधिकांश बुकिङ हरू रद्द हुन थालेको गुनासो गर्दै करिब १२० जनालाई रोजगारी दिँदै आएको रिसोर्टमा यस्तो क्षति पु¥याउनु व्यवसायिक जगतकै मनोबलमाथि चोट पुगेको बताए ।

उनले आफू ३० वर्षअघि लमजुङबाट केवल एक हजार रुपैयाँ लिएर पोखरा झरेको र क्लिनिङ कामदेखि गाइड हुँदै होटल व्यवसायमा संघर्ष गर्दै आएको बताएका छन् ।

‘सपना र पसिनाको बलमा बनाएको यो ड्रिम प्रोजेक्टमाथि आगो लगाइदिए’ गुरुङले भनेका छन् ‘दोषीउपर कडा कारवाही होस्, अन्यथा म लगायत पर्यटन व्यवसायीमाथि अन्याय हुनेछ ।’

Exit mobile version