नागरिक बचाउ अभियान सञ्चालन गर्दै आएका अभियन्ता दुर्गा प्रसाईंले वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन शुरू गर्ने घोषणा गरेका छन् ।
मंगलबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रसाईंले छठपछि आन्दोलन शुरू गर्ने घोषणा गरेका हुन् ।
‘वैदिक हिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन गर्छौं, किरात र बौद्धलाई समेत समेटेर वैदिक हिन्दू अधिराज्य घोषणा नगरी अब विश्राम लिन्न,’ प्रसाईंले भने, ‘कोठाभित्र बसेर स्टाटस लेख्ने होइन, सडकबाट आन्दोलन गर्छौं ।’
आफूले पाथीभरा देवीसँग व्यवस्था परिवर्तनको कसम खाएर आएको उनले बताए ।
‘दुर्गा मातालाई के भनेर आएको छु, अरू मागेको छैन । यो व्यवस्था परिवर्तन नगरी आउन्न भनेर आएको छु,’ प्रसाईंले भने, ‘यो देशको रक्षाका लागि बलि दिन तयार छु ।’