राजनीतिक कार्यकर्ताले नै महानगरपालिका जलाए –मेयर आचार्य

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगरको मुख्य प्रशासकीय भवन जलाउने कार्यमा जेन जी पुस्ता नभई विभिन्न राजनीतिक दलका कार्यकर्ता, व्यवसायी र आफूलाई समाजसेवी भन्नेहरूको संलग्नता रहेको दाबी गरेका छन्।

उनले महानगरका एक लाखभन्दा बढी नक्सा, महत्त्वपूर्ण कागजात, तीन दर्जन मोटरसाइकल र एक दर्जन गाडीहरू आगजनीबाट नष्ट भएको जानकारी दिए।

आगजनी सहकारी शाखाबाट सुरु भई लेखा शाखा हुँदै अन्य शाखाहरूमा फैलिएको थियो।

आचार्यका अनुसार, विभिन्न सीसीटीभी फुटेज र फोटोहरूबाट संलग्न व्यक्तिहरूको पहिचान भइसकेको र उनीहरूलाई कानूनी दायरामा ल्याइनेछ।

हाललाई बाँकी रहेका वडा कार्यालयहरू र दमकल तथा नगर प्रहरीको नयाँ भवनबाट सेवा प्रवाह गरिनेछ।

उनले यस आतंक र लुटपाटमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्। आन्दोलनकारीले मेयर आचार्यको घरमा पनि तोडफोड र आगजनी गरेका थिए।

सुरुमा जेन जी पुस्ताले शान्तिपूर्ण प्रदर्शन गरे पनि पछि चिप्लेढुंगाबाट आएको अर्को समूहले महानगरमा ढुंगा प्रहार गरी आगजनी गरेको बताइएको छ।

Exit mobile version