कंगोमा डुंगा दुर्घटना हुदाँ १९३ जनाको मृत्यु

एपी । अफ्रिकी देश कंगोको उत्तर–पश्चिमी भागमा यो हप्ता भएका दुईओटा छुट्टाछुट्टै डुंगा दुर्घटनामा कम्तीमा १९३ जनाको मृत्यु भएको छ ।

यी दुर्घटनाहरू बुधबार र बिहीबार इक्वेटर प्रान्तमा करिब १५० किलोमिटरको दूरीमा भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।

बिहीबार साँझ करिब ५०० यात्रु बोकेको एउटा डुंगामा आगलागी भएपछि त्यो कंगो नदीमा पल्टिएका कंगोको मानवीय मामिला मन्त्रालयले जनाएको छ । दुर्घटना लुकोलेला क्षेत्रको मालंगे गाउँनजिक भएको हो । ह्वेलबोट भनिने डुंगा दुर्घटनापछि २०९ जनाको उद्धार गरिएको उल्लेख छ ।

बुधबार सोही प्रान्तको बासांकुस क्षेत्रमा एउटा मोटर डुंगा पल्टिँदा कम्तीमा ८६ जनाको मृत्यु भएको थियो, जसमा अधिकांश विद्यार्थी थिए ।

सरकारी सञ्चारमाध्यमका अनुसार, धेरै मानिस अझै बेपत्ता छन् । तर, उनीहरूको यकिन संख्या खुलाइएको छैन । दुर्घटनाको कारण के थियो स्पष्ट हुन नसकेको बताइएको छ ।

सरकारी सञ्चारमाध्यमले बुधबारको दुर्घटनाको कारण क्षमताभन्दा बढी भार र रातमा डुंगा चलाउनु रहेको बताएका छन् ।

मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।फाइल तस्विर

Exit mobile version