जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र गण्डकी प्रदेशसभा आसपास क्षेत्रमा कर्फ्यू लगाएसँगै सुरक्षाकर्मी परिचालन गरेको छ ।
पोखराका मुख्य चोक–बजार, सहिदचोक, महानगरपालिकासँगै प्रदर्शन हुने सम्भावित क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति देख्न सकिन्छ ।
त्यस्तै, आज पोखराका निजी, सामुदायिक विद्यालयसँगे पृथ्वीनारायण क्याम्पसमा समेत बिदा दिइएको छ ।
यता, पोखरा सभागृहमा विद्यार्थीहरुले प्रदर्शन सुरु गरिसकेका छन् । त्यहाँ प्रदर्शनकारीको संख्या बढिरहेको छ ।
कास्की प्रशासनले दोस्रो चरणमा आज बिहान ८ बजेदेखि लागूहुने गरी कर्फ्यूको क्षेत्र बढाएको छ ।
शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यू लगाइएको छ ।
यस्तै गण्डकी प्रदेश सभाको उत्तरतर्फ भिमकाली पाटन बगर, दक्षिणमा अधिकारी टोल, पूर्व तर्फ नदीपुर हाइवे र पच्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म कर्फ्यू लगाइएको छ ।
पोखरामा सोमबार जेनजीको आन्दोलन चर्किँदै जाँदा गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा उनीहरुले तोडफोड गरेपछि प्रशासनले सहिदचोक आसपास क्षेत्रमा कर्फ्यू लगाएको थियो ।
प्रशासनले कर्फ्यू लगाएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।
जेन जीको प्रदर्शनमा सोमबार प्रहरीले गोली चलाउँदा ४ जना घाइते भएका छन् । उनीहरुको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ भने २ दर्जन प्रहरी नियन्त्रणमा रहेका छन् ।
