मानव बेचबिखन स्वीकार्य छैनः मन्त्री थापा

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले मानव बेचबिखन कदापी स्वीकार्य नहुने अभिव्यक्ति दिएका छन् ।

‘तीनै तहका सरकार मिली गरौं हातेमालो, मानव बेचबिखन विरुद्धको हटाऔं दुष्चक्रको जालो’ भन्ने मूल नारासहित गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको आयोजना र पोखरा उद्योग वाणिज्य संघको समन्वयमा आइतबार आयोजित अन्तरक्रियामा मन्त्री थापाले मानव बेचबिखनविरुद्ध शून्य सहनशीलताको नीति लिएको उल्लेख गरे ।

उनले गरिबी, बेरोजगारी, अशिक्षा, लैंगिक विभेद र घरेलु हिंसा जस्ता कारणले नेपालमा मानव ओसारपसार बढेको उल्लेख गर्दै विशेषगरी महिला, बालबालिका र सिमान्तकृत समुदाय बढी जोखिममा पर्ने बताए ।

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ र अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै प्रदेश सरकारले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ,’ उनले भने ।

हिंसामा परेका महिला तथा बालबालिकाका लागि अल्पकालीन तथा दीर्घकालीन पुनःस्थापना केन्द्र सञ्चालन, जनचेतनामूलक अभियान, प्रविधिको प्रयोग, सीमामा निगरानी प्रणाली लगायतका कार्यक्रमअघि सारिएको उनको भनाई छ ।

Exit mobile version