जिल्ला प्रहरी कार्यालय कास्कीले नाबालिकालाई जबर्जस्ती करणी र बाल यौन दुर्व्यवहार गरी भिडिओ बनाएर डिजिटल प्लेटफर्ममा राखेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, नेसनल सेन्ट्रल फर मिसिङ एन्ड एक्सप्लोइटेड चिल्ड्रेन (एनसिएमइसी) बाट प्राप्त ‘साइबर टिपलाइन रिपोर्ट’ का आधारमा अनुसन्धान गर्दा ती व्यक्ति पक्राउ परेका हुन् ।
काठमाडौँस्थित साइबर ब्युरोमा उक्त रिपोर्ट आएपछि अनुसन्धान सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा नाम र वतन परिवर्तन गरिएका पोखरा–१३ की एक बालिकालाई जबर्जस्ती करणी अर्की बालिकालाई बाल यौन दुर्व्यवहार गरी त्यसको भिडिओ बनाएर डिजिटल प्लेटफर्ममा राखेको खुलेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले ती व्यक्तिलाई साउन ३० गते दिउँसो मोबाइलसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी, बालबालिकाविरुद्धको कसुर र विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा चलाइएको छ ।
जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।