अब नख्खु कारागारमा रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट ललितपुरको नख्खु कारागार सरुवा गर्ने निर्णय भएको छ ।

लामिछानेले डेढ महिना अघि दिएको निवेदनलाई आधार बनाउँदै अहिले सरुवा गर्ने निर्णय भएको हो । पुर्पक्षका लागि जिल्ला कारागार रुपन्देहीमा रहेका लामिछानेले डेढ महिना अघि नै सरुवाका लागि निवेदन दिएका थिए ।

तर गृह मन्त्री रमेश लेखकको निर्देशनमा कारागार विभागले उनको सरुवा रोकेको कारागार विभाग स्रोतले जनाएको थियो ।

रास्वपाका एक नेताका अनुसार लामिछानेले नख्खु कारागार रोजेपछि उनलाई त्यही पठाउने निर्णय भएको हो ।

अहिले जिल्ला कारागार रुपन्देहीमा लामिछानेको सरुवाको पत्र पुगिसकेकाले आज ल्याउने कि भोली ल्याउने भन्ने विषयमा जिल्ला स्थित सुरक्षा अधिकारी छलफलमा जुटेका छन् ।

Exit mobile version