आगामी बिहीबार रविको पेसी पोखराको उच्चमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सात जनाविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दाको बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ भए पनि समयाभावका कारण सुनुवाइ सरेको छ ।

अदालतले अब आउँदो बिहीबारलाई नयाँ पेसीको मिति तय गरेको हो । मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश दीपेन्द्र अधिकारीको संयुक्त इजलासमा भएको सुनुवाइमा सबै पक्षका कानुन व्यवसायीले बहस पूरा गर्न नपाएपछि पेसी स्थगित गरिएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरूले जानकारी दिए ।

यो मुद्दा पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थासम्बन्धी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आरोपमा दायर भएको हो ।

यसअघि जिल्ला अदालत कास्कीले गत पुस २५ गते लामिछानेलगायतलाई विभिन्न रकमको धरौटीसहित रिहा गर्ने आदेश दिएको थियो । जिल्लाको आदेशविरुद्ध उच्च सरकारी वकिल कार्यालय पुगेको थियो ।

उता, लामिछानेसहितका प्रतिवादीहरूले भने धरौटीबिनै साधारण तारेखमा रिहा हुनुपर्ने माग गर्दै उच्च अदालतमा अपील दर्ता गरेका छन् । सरकारी पक्ष र प्रतिवादी दुवैको अपिलमाथि बिहीबार सुनुवाइ सुरु भए पनि प्रतिवादी पक्षका वकिलको बहस बाँकी रहँदा मिति सारिएको हो ।

आगामी बिहीबारको पेसीमा बाँकी बहस पूरा भएपछि सरकारी वकिल तथा सहकारी पीडितका कानुन व्यवसायीले जवाफ दिने र त्यसपछि आदेश आउने सम्भावना रहेको अदालतले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशी, आरती गुरुङ, मिना गुरुङ, रामबहादुर खनाल, लिला पछाईं र विज्ञान राई प्रतिवादी रहेका छन् । जिल्ला अदालत कास्कीले उनीहरूलाई १ लाखदेखि ८८ लाख रुपैयाँसम्मको धरौटीमा रिहा गरेको थियो ।

Exit mobile version