कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ। सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने आदेश भएको छ ।
शुक्रबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलबासेको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयलाई सदर गरेको हो।
तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दाअनावश्यक भएको भन्दै अभियोग संसोधन गर्ने निर्णय गरेको थियो ।
त्यसका लागि जिल्ला सरकारी वकिल कार्यालयले कास्कीले लामिछाने सहितका दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए।
त्यस निवेदनमाथि न्यायाधीश बेलबासेको इजलासले फैसला गर्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको हो।
‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक अभियोग पत्रहरूमा सहकारी ठगीको अभियोग दाबी कायम राखी अन्य संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अभियोग दाबी कायम नरहने गरी संशोधन गरिदिएको छ,’ उक्त आदेशमा भनिएको छ।
