प्याब्सन र एन प्याब्सनले बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएको छ ।
निजी विद्यालयहरुको हितविपरीत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको प्रस्तावित शिक्षा विधेयकका प्रावधानहरु हटाउन माग गर्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
देशव्यापी रुपमा आन्दोलनका चरणबद्ध कार्यक्रम गर्न लागिएको प्याब्सनका अध्यक्ष सुभाष न्यौपानेले बताए । शुक्रबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समिति कार्यालयमा ज्ञापनपत्र बुझाउने उनले जानकारी दिए ।
उनका अनुसार भदौ १ गते बिहान ११ बजे प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, २ गते संघीय सांसदहरुलाई ज्ञापनपत्र बुझाउने तथा साँझ साढे ६ बजे राष्ट्रिय परिषद्को जुम बैठकमा सुझाव संकलन, ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक, ४ गते प्रत्येका जिल्लामा जिल्लास्तरीय समितिको आन्दोलन तयारी बैठक, ५ गते सातै प्रदेशमा प्रदेशस्तरीय समितिको आन्दोलन तयारी बैठक, ६ र ७ केन्द्र र प्रदेशस्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरिनेछ ।
प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्षकृष्णप्रसाद अधिकारीले निजी विद्यालयहलाई क्रमशः गैरनाफामूलक बनाइने छ भन्ने वाक्याश हटाइनुपर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनुपर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने रछात्रवृत्तिअन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने माग रहेको बताए ।