पोखराको जमिन हत्याउने सम्वाद र मालपोत हाकिमको सरुवासम्बन्धित घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
गुप्ताले राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले भनेका छन्, ‘कहिले काही नखाएको बिष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भए । अब लागेका आरोप अनुसन्धान गरि सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस भनेर सम्मान्निय प्रधानमन्त्रि समक्ष सामान्य प्रशासनमन्त्रि पदबाट राजिनामा गरेको छु ।’
केहीदिन अघि गुप्ताले कर्मचारी सरुवा रोक्न र नियुक्ति दिलाउन ७८ लाख घुसको ‘डिल’ गरेको अडिओ सार्वजनिक भएको थियो ।
भूमि आयोग कास्कीको अध्यक्ष नियुक्त गरिदिन विचौलियासँग २५ लाख घुसको डिल गरेको गुप्ताको अडिओबारे नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार करिब १० मिनेट लामो संवादमा गुप्ताले एक महिलासहित विचौलियासँग भूमि आयोगको जिल्ला अध्यक्ष नियुक्ति गर्न आर्थिक लेनदेनको कुरा प्रष्ट सुनिन्छ ।
अडियोमा एमालेका गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनलाई भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त गर्नका बिचौलियाले २५ लाख घुसको प्रस्ताव गरेको समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।
आइतबार संसद्मा माओवादी केन्द्रले मन्त्रीको अडिओ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने माग गरेको थियो । त्यसपछि सत्तापक्षकै नेता तथा सांसदले गुप्ताको राजीनामा मागेका थिए ।