पोखरा विश्वविद्यालयको नीति तथा कार्यक्रम पारित भएको छ ।
२५औँ साधारण सभाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ५४ करोडको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको हो ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले विश्वविद्यालयको शिक्षक कर्मचारीसम्बन्धी नियमावली, २०५५ र आर्थिक नियमावली, २०५५ सेवा आयोग र पुनरावेदन समितिसम्बन्धी नियमावली, २०५७ सहित विभिन्न नियमावलीमा संशोधन प्रस्ताव पारित गरेको छ ।
बैठकमा कुलपति ओलीले विश्वविद्यालयलाई अनुसन्धानमूलक र प्रतिस्पर्धीरूपमा सञ्चालन गर्न आग्रह गर्दै स्वदेशमै उत्कृष्ट उच्चशिक्षा सम्भव छ भन्ने भावनालाई सार्थक तुल्याउनुपर्नेमा जोड दिए ।
उपकुलपति प्राडा वेदराज केसीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपलब्ध स्रोत साधनको उपयोग गरी विश्व बजारको माग अनुसारको शिक्षा दिन विश्वविद्यालयले भरमग्दुर प्रयास गर्ने बताए ।