गण्डकीमा गुणस्तरीय चिकित्साशास्त्र अध्ययन संस्थानतर्फ अब्बल ठहरिएको गण्डकी मेडिकल कलेजमा पोष्ट ग्य्राजुएटको नयाँ ब्याचलाई स्वागत गरिएको छ ।
जिएमसी प्रशासनद्वारा आयोजित स्वागत एवं अभिमुखिकरण कार्यक्रममा कलेजका प्रिन्सिपल प्राडा रविन्द्रप्रसाद श्रेष्ठले चिकित्साको क्षेत्रमा कलेजको आर्जन गरेको ख्यातीलाई कायम राख्दै सम्पूर्ण फ्याकल्टीकातर्फबाट स्वागत गरे ।
‘चिकित्साशास्त्रको अध्ययन केवल पेशा र वृत्तिविकासको खुड्किलोमात्र हैन’ प्राडा श्रेष्ठले भने ‘हाम्रो कर्म र धर्म मानवीय सेवा हो, हामीमाथि समाजको अपेक्षा धेरै छ ।’
सोही अपेक्षा पुरा गर्न जिएमसीमा सहभागी भएको भन्दै उनले विद्यार्थीहरुलाई सफलताको शुभकामनासमेत दिए । ‘हामी सबै सँगसँगै अघि बढ्नेछौं’ श्रेष्ठले भने ।
कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्राडा टु माया घलेले स्थापनाकालदेखि नै चिकित्सकीय सेवा र चिकित्सक उत्पादनमा जिएमसीले निरन्तरता दिँदै आएको उल्लेख गर्दै त्यसैको परिणाम आज विद्यार्थीहरुले गर्व गर्ने संस्था बनेको बताइन् ।

विद्यार्थीहरुलाई स्वागतसँगै विषयगत अभिमुखिकरण गरिएको कार्यक्रममा प्राडा घलेले कलेजका चिकित्सक, फ्याकल्टी, विद्यार्थी र कर्मचारीलगायतलाई धन्यवाद समेत व्यक्त गरिन् ।
कार्यक्रममा कलेजमा आबद्ध चिकित्सक, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
यस शैक्षिक सत्रमा ३३ पिजीका विद्यार्थीलाई स्वागत गरिएको कलेजमा हाल विभिन्न तहमा करिब १२ सय विद्यार्थी अध्ययनरत छन् ।
पछिल्लो समय कलेजले शिक्षण अस्पतालतर्फ मुटु र न्यूरोसर्जरीको विशेषज्ञ सेवासमेत प्रदान गरिरहेको छ ।