प्रचण्ड ‘हलेदो’ भन्ने चाल पाएपछि किन कोट्याइरहनुः –बाबुराम भट्टराई

आफ्ना पूर्वसहपाठी पुष्पकमल दाहाल प्रचण्डलाई हलेदो भन्दै बाबुराम भट्टराइले थप कोट्याइरहन आवश्यक नभएको प्रतिक्रिया दिएका छन् ।

जारी संसदमा यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भिजिट भिसा प्रकरणमा विपक्षी दलकातर्फबाट विरोध जनाउँदै आएपनि पछि २ बुँदे सहमति गरेर सत्तापक्षसँगै लहसिएको सन्दर्भमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले उक्त कुरा बताएका हुन् ।

पार्टीको गण्डकी प्रदेश समितिले पार्टीको निर्णय सार्वजनिक गर्न पोखरामा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष भट्टराईले आफ्नै योजनामा देश चलिरहेको बताएका छन् ।

नेसपा सँधै विकास, सूशासनमा कटिबद्ध भएको बताउँदै अन्य पार्टीहरुले पनि त्यही नारा समाएर अघि बढेको उनको भनाई छ ।

पछिल्लो समय वैकल्पिक शक्ति निर्माणमा जुटेको भन्दै उनले सुशासन र भ्रष्टाचाररहित समाजको मुद्दामा समान धारणा रहने दलसँग सहकार्य गर्ने योजना रहेको सुनाएका छन् ।

समाजवादीको हालैको बैठकले प्रत्यक्ष कार्यकारीको मुद्दालाई अघि बढाउन केन्द्रदेखि प्रदेशसम्म दबाब र आन्दोलनको खाका अघि सार्ने निर्णय गरेको जनाइएको छ ।

Exit mobile version