नयाँलिपिः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राइड सेयरिङ्विरुद्ध गत शुक्रबारदेखि गरेको आन्दोलन मुलतः गण्डकी प्रदेश सरकारलक्षित थियो ।
राइड सेयरिङलाई वैधानिकता दिने नियमावली बनाएपछि उग्र बनेका यातायात व्यवसायीले जेठ १६ गतेदेखि गण्डकी प्रदेशकेन्द्रित आन्दोलन गरे । जसको सर्वत्र विरोध हुँदै थियो ।
यातायातको हडताललाई मत्थर पार्न राइड सेयरिङ् झनै व्यस्त भयो । जसको परिणाम यातायात व्यवसायीको भागमा ‘गाली’ र राइडरले ‘ताली’ पाए ।
यता निर्धारित कार्यक्रमअनुरुप यातायात व्यवसायीले १९ गतेदेखि देशभर सार्वजनिक सवारी ठप्प पारेपछि भने अन्ततः उनीहरुकै जीत भएको छ ।
संघ सरकारसँग वार्ता भएपनि त्यसको सोझो तीर गण्डकी प्रदेश सरकार लक्षित थियो । प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारसमक्ष राइड सेयर अनधिकृत चलिरहेकाले वैधानिकता दिन खोजेको भन्दै नियमावलीउपर कुनै बहस नहुने बताइरहेका थिए ।
यसैबीच, सोमबार अपरान्ह संघ सरकारबाट जारी भएको परिपत्र आएपछि मुख्यमन्त्री पाण्डे स्वतः लत्रिन पुगेका छन् ।
यसपश्चात् गणतन्त्र र अझ प्रदेशविरुद्ध मत राख्नेहरुले सरकारलाई गाली गर्ने अवसर पुनः प्राप्त गरेका छन् । पत्र पाएलगत्तै प्रदेश सरकारले १ महिना स्थगन गरेको सूचना दिएको छ ।
उक्त सूचनाअनुसार महिना दिन स्थगन भनिएपनि यसले प्रदेशमाथि संघ सरकार हावी भएको र संघ सरकार व्यवसायी सामु निरिह भएको प्रमाणित गरेको छ ।
यता, स्थगनको सूचनासँगै आज बिहानैदेखि पोखरामा सार्वजनिक सवारी साधन चल्न थालेका छन् भने जनजीवन सामान्य भएको छ ।