६५ मिटर मापदण्ड छुट्याउन फेवा किनारमा ठडियो ‘पिल्लर नं. १’

दिपक के श्रेष्ठः पोखराको फेवाताल किनारबाट ६५ मिटरभित्रका संरचना हटाउन सर्वोच्च अदालतले दिएको आदेश पुरा गर्न तीनै तहका सरकार एकसाथ जुटेपछि आजबाट फेवा किनारमा सिमांकनस्वरुप पिल्लर गाड्न थालिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेर, पोखरा महानगरका मेयर धनराज आचार्य र सुरक्षाकर्मीको दलबलसहित बाराहीघाटमा १ नम्बरको पिल्लर गाडेर सिमांकनको सुरुवात गरेका छन् ।

मुख्यमन्त्री पाण्डेपछि २५–२५ मिटरको दूरीमा मेयर आचार्य र प्रजिअ पाण्डेले क्रमशः २ र ३ नम्बरको पिल्लर गाडेका छन् ।
सिमेन्टद्वारा निर्मित ४ फिटको पिल्लरलाई २ फिटमुनि गाडेर सिमेन्ट प्लास्टर गरिएको छ ।

पत्रकारसमक्ष शुक्रबारको कुराकानीमा शनिबार बिहान सवा ११ बजे आफैले पिल्लर गाडेर सुरुवात गर्ने बताएका मुख्यमन्त्री निर्धारित समयमा भने बाराहीघाट पुगेनन् ।

प्रजिअ र मेयर दलबलसहित निर्धारित समयमा बाराहीघाट पुग्दा मुख्यमन्त्री भने करिब १ घण्टा ढिलो पुगेका थिए ।

पिल्लर गाड्नेक्रममा स्थानीयवासीले मुख्यमन्त्री र मेयरविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

तालघरमा १ हजार ५५ डिजिटल पोल गाडिएको बताउँदै अब भौतिकरुपमा सिमेन्टको पोल गाड्ने काम सुरु भएको हो ।

पिल्लर गाडेसँगै मुख्यमन्त्री, सिडिओ र मेयर यस क्षेत्रमा रहेका घर, होटल, रेस्टुराँ, व्यापारिक संरचना तथा अन्य भौतिक निर्माण ६ महिनाभित्र हटाउनुपर्ने चुनौतिका पाहाडबीच उभिन पुगेका छन् ।

सर्वोच्च अदालतको २०८० असार ४ गतेको आदेशमा व्यक्तिगत, संस्थागत, सरकारी वा सार्वजनिक नाममा दर्ता गरिएका भए पनि ताल क्षेत्रमा पर्ने सम्पूर्ण जग्गाको दर्ता बदर गरी फेवातालको नाममा कायम गर्न निर्देशन दिएको छ।

अदालतले फेवाताल संरक्षणका लागि यो क्षेत्रभित्र कुनै नयाँ निर्माण, व्यापार वा व्यवसाय गर्न नपाइने व्यवस्था गर्न र स्वीकृति दिइएको भए खारेज गर्न स्पष्ट आदेश दिएको छ।

Exit mobile version