पोखरामा ३ महिलालाई सञ्चारिकाको सम्मान

पोखरामा शनिबार पत्रकार महिलाको क्षमता अभिवृद्धि कार्यक्रम तथा पुरस्कार अर्पण कार्यक्रम भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजना र सञ्चारिका समूह गण्डकीको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पत्रकार महासंघ गण्डकीकी महासचिव जमुना शर्मा र राष्टिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारीलाई सञ्चारिका पत्रकारिता पुरस्कार गरिएको हो । उनीहरुलाई २०-२० हजार रुपैयाँ प्रदान गरिएको छ।

म्याग्दीकी देवी जिसीलाई गुरुङ ब्युटी एकेडेमी अवार्ड अर्पण गरिएको थियो । पुरस्कारको राशि १० हजार रुपैयाँ छ ।


सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारको नेताको गुण गाउने नभएर सरकारका चुनौती, समस्यालाई उजागर गर्नु रहेको बताए ।

पत्रकार तथा मिडिया हाउसले ‘राज्य व्यवस्थालाई कसरी अझ सुदृढ र उत्तरदायी बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।


‘पत्रकारले सरकारकार राम्रा पक्ष देखाउनु राम्रो हो तर सरकारका गल्ति कमजोरीलाई पनि उजागर गर्नुपर्छ,’ उनले भने, ‘पत्रकारिताले आलोचना मात्र होइन, समाधानमुखी सोच र सकारात्मक सुझाव पनि दिन सक्नुपर्छ ।’


सञ्चारिका समुह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले सञ्चार कार्यालयहरु महिलामैत्री हुनुपर्नेमा जोड दिइन् ।

उनले महिला पत्रकारले पारिवारिक सहयोग नपाउने, कार्यालयमा तलब विभेद, लैंगिक विभेदको सामना गर्नुपरेको बताइन् । उनले महिला पत्रकारका अवस्थाका बारेमा जानकारी दिएकी थिइन् ।


स्टिङ अपरेसन पत्रकारिताको आचारसहिंताभित्र नपर्ने तथा यसले पत्रकारिताको मर्यादा माथि प्रश्न उठाउने प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले बताए ।

पत्रकारको काम सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचार प्रकाशन गर्नु रहेको उनको भनाइ छ ।

जासुसी शैलीमा सूचना संकलन गरी सार्वजनिक गर्नु व्यावसायिक पत्रकारिताको अभ्यास नहुनुका साथै नैतिकता भित्र पनि नपर्ने लामिछानेले बताए ।

गलत वा भ्रामक सामग्री प्रकाशित भएमा सञ्चारमाध्यमले क्षमा माग्नुपर्ने लामिछानेको स्पष्ट भनाइ छ ।

उनले भने, ‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, जिम्मेवारीबोध हो । पत्रकारिता विश्वासको व्यवसाय हो, र यो विश्वास कायम राख्न सञ्चारमाध्यमले आफूले गरेका त्रुटिप्रति जवाफदेही हुनुपर्छ ।’

Exit mobile version