खेल पत्रकारिता अवार्ड नेपाललाई,उक्त अवार्ड वितरण कार्यक्रममा समिक्षाले प्रस्तुती दिने

पोखरा । ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ अन्तरगत उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्था मगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमिति बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमान गदै नेपाललाई अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

प्रतिभा छनोट समितिको संयोजकमा मञ्चका पूर्व अध्यक्ष केशव पाठक र सदस्यहरुमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, कास्की अध्यक्ष माधव बराल, पूर्व सम्मानित रोहितराज पराजुली एवं पदेश सदस्य मञ्चका अध्यक्ष एमबि आस्था मगर र महासचिव परशुराम शर्मा रहेका थिए ।

मञ्चका पूर्व महासचिव रहेका पत्रकार नेपाल हाल राजधानी दैनिक, आदर्श समाज दैनिक र हिमालप्रेसमा कार्यरत छन् । पाल्पाको रिब्दीकोट–७, मैनादीमा जन्मिएका उनी बाबु शालिकराम नेपाल र आमा सीतादेवी नेपालका २ छोरामा जेठा हुन् । उनले अंग्रेजी साहित्यमा एमए र एलएलबी गरेका छन् ।

करिब दुई दशकदेखि पोखरामा निरन्तर पत्रकारितामा क्रियाशील उनले दर्जनभन्दा बढी पुरस्कार एवं सम्मान पाएका छन् । युवा तथा खेलकुद मन्त्रालयद्वारा राष्ट्रिय खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार–२०७९ प्राप्त गरिसकेका उनलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७५, ‘विन्ध्यवासिनी गीतसंगीत पत्रकारिता पुरस्कार–२०७४’, ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता–२०८०’ लगायतबाट पुरस्कृत गरिएको थियो ।

२०६२ सालतिर सञ्चार दर्पण साप्ताहिकबाट नियमित लेख्न थालेका उनले यस अवधिमा धेरै मिडियामा काम गरे । माइक्रोन्यूजमा विद्यार्थी पत्रकार हुँदै मिडियामा प्रवेश गरेका उनले यसअघि पोखरा हटलाइन, रेडियो वाराही, गोर्खा एफएम, स्टार एफएम, नमस्ते एफएम, पश्चिमाञ्चल एफएम, राइजिङ पोखरा, लुम्बिनी दैनिक, यो साता साप्ताहिक, प्राप्ति पत्रिका, रासस, समाधान दैनिक, लोकान्तर, सफलआवाजमा कार्यरत रहेको अनुभव छ ।

उत्कृट खेल पत्रकारिता अवार्ड यसअघि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक, दीपक परियार, सागरराज तिमिल्सिना र रोहितराज पराजुलीलाई दिइएको थियो ।


खेल पत्रकारिता लगायतका विधामा अवार्ड प्रदान गरिने उक्त कार्यक्रममा गायिका समिक्षा अधिकारीले प्रस्तुती दिने भएकी हुन ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ’नवौँ पोखरा स्पोट्र्स अवार्ड २०८१’मा समावेश गरिएको साङ्गीतिक तथा सांस्कृतिक प्रस्तुतीमा मुख्य आकर्षणको रुपमा गायिका अधिकारीको प्रस्तुती रहने मञ्चले जनाएको छ।

पोखरा इभेन्ट सेन्टर बुलौदीमा आयोजना हुने कार्यक्रममा अधिकारीले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउनेछिन् । उनको प्रस्तुतीमा रम्न इच्छुक सङ्गीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर रमाउन पाउनेछन्। कार्यक्रम हेर्नको लागि प्रवेश निःशुल्क रहेको सांस्कृतिक उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।

समीक्षाका अलावा अन्य सांस्कृतिक प्रस्तुती समेत कार्यक्रममा हुने भएकोले अवार्ड कार्यक्रममा उपस्थित हुन सबैजनालाई मञ्चका सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक राजु गिरीले आग्रह गरेका छन् ।

Exit mobile version