एनभीए भलिबलः सञ्जुको कप्तानीमा ३ पाकिस्तानी खेलाडीसहित बन्यो ‘टिम गण्डकी’

नयाँलिपिः नेपाल भलिबल संघले नवौं सस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८२ भोली बिहीबारदेखि सुरु गर्ने भएको छ ।

पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्ड हलमा आयोजना हुने भलिबलको ठुलो लिगमा गण्डकी प्रदेशले सञ्जुविक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।

टिममा यसपटक तीन पाकिस्तानी खेलाडी रहेका छन् । जसले टिममा स्पाइकरको मुख्य भूमिका निभाउने विश्वास गरिएको छ ।

विदेशी खेलाडीमा पाकिस्तानका अइमल खान, वाकर खान र अदनान खान रहेका छन् । जसमध्ये अइमल अग्ला कदका शक्तिशाली स्पाइकर हुन् ।

अन्य खेलाडीमा हिमाल सुनार, इन्द्र विक, सन्तोष विक, राजन दर्लामी, बिश्वास अधिकारी, उमेश सेन्चुरी, दिवस आले र कुन्जन शाही ठकुरी रहेका छन् ।

त्यस्तै, प्रशिक्षकमा रमेश केसी रहेका छन् ।

प्रतियोगितामा ८ पुरुष टोली र ६ महिला टोलीले आ–आफ्नो समूहबाट प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फको प्रतियोगितामा हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लब बुटवलले प्रतिस्पर्धा गर्ने भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा महिलातर्फ नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लब, एभरेस्ट भलिबल क्लब बुटबल र कर्णाली प्रदेश भलिबल टिमले सहभागिता जनाउने छन् ।

लिगमा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय र तृतिय स्थान प्राप्त गर्ने टिमले क्रमशः नगद ८ लाख, ४ लाख र २ लाख नगद पुरस्कार पाउने छन् ।

Exit mobile version