नयाँलिपिः उद्योगी तथा व्यवसायीहरूले नागरिक एपमार्फत व्यवसाय दर्तादेखि सम्पूर्ण प्रक्रिया पूरा गर्न सकिने प्रविधिमैत्री प्रणालीको माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को प्रि-बजेट छलफल कार्यक्रममा यस्तो माग गरिएको हो ।
सुशासनका लागि प्रविधिको उच्चतम प्रयोग आवश्यक रहेको भन्दै महासंघले यसका लागि नागरिक एपबाटै सम्पूर्ण व्यवसायजन्य सेवा उपलब्ध गराउनु आवश्यक रहेको कुरामा जोड दिएका हुन् ।
महासंघले व्यावसायिक वातावरण सुधारसम्बन्धी सुझाव दिँदै यस्तो व्यवस्था हुँदा लघु, घरेलु तथा साना उद्यमले सेवा लिन सजिलो हुने उल्लेख गरेको छ । व्यवसाय दर्ता, राजस्व तिर्ने र कर चुक्ता प्रमाणपत्र तुरुन्तै प्राप्त गर्ने प्रक्रिया सरल र एकद्वार प्रणालीमा जानुपर्ने माग गरिएको छ।
यस्तै महासंघले थप पाँच वर्षसम्म स्टार्टअप उद्योगलाई दिइएको छुट सुविधा निरन्तरता दिनुपर्ने र “सय स्टार्टअप, सय लगानीकर्ता” कार्यक्रममार्फत एक आर्थिक वर्षभित्र कम्तिमा एक सय स्टार्टअपमा निजी क्षेत्रको लगानी भित्र्याउने योजना ल्याउन आग्रह गरेको छ ।
सार्वजनिक तथा निजी संस्थाहरूले स्वदेशमै उत्पादित सफ्टवेयरको प्रयोगमा प्राथमिकता दिनुपर्ने र सूचना प्रविधिमा निजी क्षेत्रलाई आईसिटी मल स्थापना गर्न प्रोत्साहित गरिनुपर्ने पनि व्यवसायीहरूको सुझाव छ ।
यस्तो मलबाट सहरी क्षेत्रमा प्रविधि उद्यमलाई आवश्यक पूर्वाधार र सुविधा उपलब्ध हुने महासंघको विश्वास छ ।