विमानस्थल निर्माणमा १० अर्ब भ्रष्टाचारको आरोपपछि अधिकारीले पोखरामा भनेः –‘कपोलकल्पित र भ्रामक आरोप’

नयाँलिपिः बिहीबार पोखरामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ. प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाक्रममा कुनैपनि अनियमितता, भ्रष्टाचार नभएको बताएका छन् ।

संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठेक्का प्रक्रियादेखि नै भ्रष्टाचार भएको निष्कर्ष निकालेको प्रतिवेदन सार्वजनिक भएपछि महानिर्देशक अधिकारीले पोखरामा उक्त कुरा बताएका हुन् ।

‘विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै चर्चामा आएका विषयवस्तुहरू कपोलकल्पित र भ्रामक हुन्’ अधिकारीले भनेका छन् ।

अधिकारीले थपे ‘छानबिन समितिको प्रतिवेदनका नाममा सत्य तथ्य कुरा नबुझीकन सस्तो लोकप्रियताका लागि भ्रमको खेती गर्न खोजिएको छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा ११ सदस्यीय उपसमिति गठन गरिएको थियो । समितिले विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भन्दै त्यसको मुख्य दोषी अधिकारी रहेको उल्लेख गरेको छ ।

उसमितिले तत्कालीन आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका वर्तमान महानिर्देशक अधिकारीसहित ८ प्राविधिक तथा कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।

Exit mobile version