४ महिना नबित्दै पीएन क्याम्पसका प्रमुख पाठकको आकस्मिक राजीनामा !

दिपक के श्रेष्ठः पृथ्वीनारायण क्याम्पस, पोखराका प्रमुख प्राडा हरिप्रसाद पाठकले अकस्मात् राजीनामा दिएका छन् ।

प्राडा पाठकको राजीनामाबारे क्याम्पसकै कतिपय प्राध्यापक एवं कर्मचारी अनभिज्ञ रहेको पाइएको छ । पाठकले त्रिभुवन विश्वविद्यालयका उपकूलपतिसमक्ष राजीनामा दिएका हुन् ।

सहायक क्याम्पस प्रमुख गजेन्द्रप्रसाद च्वाईका अनुसार प्रमुख पाठक केही दिनयता राजीनामा दिने सोंचमा रहेका थिए । ‘उहाँले पारिवारिक कारणले राजीनामा दिने कुरा गरिरहनु भएको थियो’ च्वाईले भने ‘विस्तृत प्रमुखज्यूले नै भन्नुहोला ।’

प्राडा पाठक गत माघ २ गते क्याम्पस प्रमुख नियुक्त भएका थिए । ०६० सालपछि क्याम्पसमा प्रजातान्त्रिक खेमाबाट प्रमुख बनेका पाठकले ४ महिना नबित्दै राजीनामा दिएका हुन् ।

यस विषयमा प्रमुख पाठकले ‘आफुले केही दिनअघि राजीनामा पठाएको’ बताएका छन् ।

‘मैले इमेलमार्फत् भिसी कार्यालयमा राजीनामा पठाएको छु, मिति यकिन भएन’ प्राडा पाठकले भने ‘मेरो नितान्त निजी र घरायसीकारणले राजीनामा दिएको हुँ, अन्य कुनै कारण छैन ।’

ठ्याक्कै कहिले राजीनामा दिएको भन्ने यकिन नभएपनि उनले यही हप्तामै इमेल गरिदिएको बताए ।

स्ववियु निर्वाचनकै बेला दबाबमा रहेका पाठकले त्यतिबेलै राजीनामा दिएको केही प्राध्यापकले अड्कल काटेपनि उनले राजीनामा नगरेको बुझिएको छ ।

त्रिविको क्याम्पस प्रमुख छनौट समितिको सर्टलिष्टमा दाबी गर्ने मध्ये त्यसबेला पाठकसँगै प्राडा टंकराज अधिकारी, सहप्राडा वीरबहादुर कार्की, प्रा लालबहादुर कुँवर र प्राडा शोभाकान्त लामिछाने रहेका थिए ।

प्राडा पाठकले राजीनामा दिएपनि स्वीकृति भने भएको छैन । पाठकलाई प्रजातान्त्रिक खेमाबाटै अप्ठ्यारोमा पारिएपछि राजीनामा दिएकोसमेत चर्चा छ ।

पाठकले राजीनामा दिएपछि नेपाली कांग्रेसका केही प्राध्यापक राजधानीबाट आएर समस्या सुल्झाउने प्रयाससमेत भएको एक प्राध्यापक बताउँछन् ।

आज अपरान्ह उपकुलपतिको जिम्मेवारी पाएका शिक्षाध्यक्ष प्राडा खड्ग केसी आउने कार्यक्रम रहेको र यस विषयमा पनि छिनोफानो हुने सम्भावना छ ।

अब पीएनको प्रमुख को हुने ? भन्ने विषयमा अहिले अनुमान लगाउन गाह्रो छ । कतिपय अवस्थामा ६ महिनाभित्र पद रिक्त भए सर्टलिष्टमा परेकामध्येबाट वरियताकाआधारमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।

तर क्याम्पस प्रमुखको हकमा नियुक्त गर्दा लोकसेवा आयोगको नियमावली नचल्ने र वैकल्पिक उम्मेदवार नहुने भएकाले विश्वविद्यालयको कार्यपरिषद्को निर्णय अन्तिम रहने सम्भावना रहन्छ ।

यस विषयमा त्रिविको कार्यविधिमा समेत स्पष्ट किटान नभएको जानकार बताउँछन् । प्राडा पाठक सर्टलिष्टमा परेकाबेला प्राध्यापक लालबहादुर कुँवरको अधिक सम्भावना रहेको मानिएकोे थियो ।

सोही आधारमा प्राध्यापक कुँवरले अब पीएनमा प्रमुखको कुर्सी सम्हाल्ने सम्भावना अधिक छ ।

Exit mobile version