६६ लाग्यो त्रिविको पृथ्वीनारायण क्याम्पस

त्रिभुवन विश्वविद्यालयको सबैभन्दा ठूलो आंगिक क्याम्पस पृथ्वीनारायण क्याम्पसले आफ्नो ६६औं वार्षिकोत्सव धुमधामका साथ सम्पन्न गरेको छ।

विसं २०१७ भदौ १७ गते स्थापना भएको यो क्याम्पस गण्डकी प्रदेशको अग्रगामी शिक्षण संस्था हो।

वार्षिकोत्सव समारोहका मुख्य अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीले क्याम्पसको भौतिक पूर्वाधार विकासमा आयोगले निरन्तर सहयोग गरिरहेको बताए।

उनले यसै वर्ष म्याचिङ ग्रान्ड भवन निर्माणका लागि करिब ८ करोड ३६ लाख रुपैयाँ सहयोग प्राप्त भएको जानकारी दिए।

क्याम्पसका सहायक प्रमुख विजयबहादुर थापाले पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पसमध्ये सबैभन्दा ठूलो भएको जानकारी दिए। उनका अनुसार, यहाँ ११ हजार ५८२ जना विद्यार्थी र करिब ५०० शिक्षक तथा कर्मचारी कार्यरत छन्।

गण्डकी प्रदेशको पश्चिम क्षेत्रको अग्रगामी शिक्षण संस्था भएकाले विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई विशेष सहयोग गरिरहेको पनि उनले बताए। यसै वर्ष म्याचिङ ग्रान्ड भवनका लागि प्राप्त ८ करोड ३६ लाख रुपैयाँ टेन्डर आह्वान प्रक्रियामा रहेको थापाले स्पष्ट पारे।

क्याम्पस प्रमुख प्राडा हरिप्रसाद पाठकले यस वर्ष विद्यार्थीहरूका लागि व्यावसायिकता विकास (एन्टरप्रेनरसिप डेभलपमेन्ट) तथा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए।

यसबाट विद्यार्थीले विश्वविद्यालयको नीतिबाट प्रत्यक्ष लाभ लिन सक्ने वातावरण बनेको उनले विचार राखे। क्याम्पसमा विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र र शिक्षा संकायअन्तर्गत ३४ वटा विभाग सञ्चालनमा छन्।

प्रमुख पाठकले आगामी वर्षका लागि क्याम्पसका मुख्य योजनाहरू प्रस्तुत गरे। उनले एनक्यू एचिप प्रोजेक्टअन्तर्गत विश्वविद्यालय अनुदान आयोग, नेपालसमक्ष म्याचिङ फन्डबाट ८ करोोड ३६ लाख रुपैयाँको लागतमा नयाँ शैक्षिक भवन निर्माण सम्पन्न गर्ने योजना रहेको बताए।

साथै, क्याम्पसलाई शैक्षिक उपाधि प्रदान गर्ने उच्च शैक्षिक संस्थाको रूपमा रूपान्तरित गर्नका लागि ८ करोड ६७ लाख रुपैयाँको लागतमा आवश्यक भौतिक पूर्वाधार निर्माण कार्य सुरु गर्ने योजना रहेको पनि उनले जानकारी दिए।

संघीय सरकारको ३ करोड रुपैयाँको लगानीमा छात्रावास भवन निर्माण गर्ने र अन्नपूर्ण रंगशाला परिसरमा चेन्जिङ रुम निर्माण गर्ने योजना पनि रहेको उनले बताए।

पोखराका मेयर धनराज आचार्य, संस्थापक क्याम्पस प्रमुख जर्ज जोन लगायतको उपस्थिति रहेको कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनका सभापति विष्णुप्रसाद पोखरेलले १६ वर्षपछि भएको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिँदै क्याम्पसको विकासमा सबैको सहयोग आवश्यक रहेको बताए।

श्रमिक संगठनका प्रतिनिधि धनबहादुर गुरुङले करारका प्राध्यापकहरूले साउन महिनादेखि तलब नपाएको लगायत कर्मचारीको तलब समस्या तत्काल समाधान गर्न माग गरे।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाईका सभापति सहप्राध्यापक डाक्टर लक्ष्मीशरण अधिकारीले गुणस्तरीय विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।

Exit mobile version