ऋणीहरुले लगेको गाडी र मोटरसाइकल खोज्दै सूर्यदर्शन सहकारी

नयाँलिपिः सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले हायर पर्चेज लोनअन्तरगतका सवारीसाधनहरुको खोजी सुरु गरेको छ ।

सहकारीबाट रिन लिएर गाडी र मोटरसाइकलहरुल किनिएको र त्यसको हिसाबकिताब एवं नामसारी बाँकी रहेको भन्दै संस्थाले सार्वजनिक सूचनामार्फत ऋणीलाई सम्पर्कमा आउन भनेको छ ।

सहकारीका संचालकमध्ये कोही फरार त कोही थुनामा रहेकाबेला सहकारी पीडितमार्फत पुनः सञ्चालनको प्रक्रिया सुरु गरेकोबेला यस्तो सूचना आएको हो ।

‘सूर्यदर्शन सहकारीपीडित संघर्ष समिति’का अध्यक्ष किरण श्रेष्ठले बजारमा सहकारीबाट रिनमार्फत खरिद गरेका गाडी गुडिरहेको पाइएपछि उनीहरुलाई सम्पर्कमा ल्याउन सूचना निकालिएको बताए ।

‘हायर पर्चेज लोनमार्फत गाडी किनेर चढेको पाएको छौं’ श्रेष्ठ भन्छन् ‘सहकारीकै कर्मचारीका नाममा पनि ४ वटा मोटरसाइकल किनिएको रहेछ, जसको हिसाबकिताब बाँकी नै रहेछ ।’

रिन वा किस्ता तिर्न बाँकी भएर हिसाब मिलाउन र तिरिसकेको भए नामसारीको प्रक्रिया अघि बढाउन सूचना जारी गरेको उनले बताए । ‘हिसाब तुरुन्त मिलाउनुस्, तिर्न बाँकी नभए नामसारी गर्न आउनुस् भनेर भनेका छौं’ श्रेष्ठले भने ।

यसरी गुडिरहेका गाडी ट्राफिक प्रहरीको चेकिङकाक्रममा समातिएपछि हाल उनीहरुकै नियन्त्रणमा रहेकोसमेत पाइएको उनले जनाएका छन् ।
गाडीधनीहरुलाई १५ दिनभित्र सम्पर्कमा आउन सहकारीले अनुरोध गरेको छ ।

त्यस्तै, सहकारीसँग लेनदेन बाँकी भएका बचतकर्तालाई पनि ३५ दिनभित्र कार्यालयमा प्रमाणसहित आउन संस्थाले आग्रह गरेको छ । सहकारीमा रहेको कम्प्युटरलगायतका सामग्री अदालतमा रहेकाले पुनः बचतकर्तालाई आव्हन गरिएको हो ।

त्यस्तै, सहकारीको कम्प्युटरमा रहेको सफ्टवेयर अन्यले चलाउन नमिलेपछि बचतकर्ता, ऋण, लगानीको डाटा नभएको संस्थाले जनाएको छ । सोही कारण १ सय रुपैयाँको शेयर किनेर बचतकर्तालाई पुनः संस्थागत गर्ने योजना सहकारीको रहेको छ ।

सहकारीले बचतकर्ताले संकलन गरेको रकम फिर्ता नगरेर १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ । सहकारीको १८ हजार ७ सय बचतकर्ता रहेको अनुमान छ ।

Exit mobile version