Skip to content

सूर्यदर्शन सहकारी अब पीडितले चलाउने, बजारबाट पैसा उठाइने

दिपक के श्रेष्ठ: सूर्यदर्शन सहकारीका पीडितहरुले २ वर्षसम्म बचत फिर्ता पाउन सडक आन्दोलन गर्दा पनि पार नलागेपछि अब सहकारीनै सञ्चालन गर्ने भएका छन् । गत कात्तिकदेखि सहकारी खोलेर राखेपनि अब केही कर्मचारी राखेर सञ्चालन गर्ने भएका हुन् ।

सहकारी सञ्चालन गर्ने भएपनि पीडितहरुको योजना भने बजारमा प्रवाह भएको रिन उठाउने तयारीलाई प्राथमिकता दिइएको संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले जनाए । पीडित संघर्ष समितिले श्रेष्ठकै अध्यक्षतामा ९ सदस्यीय सहकारी सञ्चालक समिति गठन गरेका छन् ।

श्रेष्ठका अनुसार बचत पीडितमात्र हैन सहकारीबाट रिन लिएका पनि पीडित छन् । ‘जसले रिन लिए, उहाँहरु तिर्न तयार हुनुहुन्छ तर तिर्ने ठाउँ पनि पाउनु भएको छैन’ श्रेष्ठले भने ‘उहाँहरुले रिन तिरेर धितो फुकुवा गर्ने वातावरण बनाउँछौं ।’

समितिको आंकलन र पोखरा महानगरको प्रतिवेदनअनुसार पोखराबाट करिब १३ करोड रुपैयाँको हाराहारीमा सहकारीले रकम उठाउन बाँकी छ । जसमध्ये बिना धितो रिन लिनेहरुको बाहुल्यता छ । बिना धितो रिन प्रवाह भएपनि त्यो रकम उठ्ने श्रेष्ठको दाबी छ ।

‘सयौंको संख्यामा बिना धितो रिन दिइएको पाइएको छ’ उनले भने ‘उहाँहरु पोखराका लब्धप्रतिष्ठित व्यक्तिहरु हुनुहुन्छ, र उहाँहरुले तिर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’ रिन तिर्न आनाकानी गरे प्रचतिल ऐन, कानून अनुसार कारवाही हुने उनले उल्लेख गरे ।

सहकारी सञ्चालक समितिले बचत संकलन गर्ने वा ऋण प्रवाह गर्ने कुनै योजना भने नभएको सल्लाहकार दिपेन्द्र राई बताउँछन् । बजारमा छरिएको रकम उठाउने र प्रतिशतको आधारमा दामासाहीमा वितरण गरिने कामलाई प्राथमिकतामा राखेको राई बताउँछन् ।

‘हामी सबै सहकारी पीडित हौं, सडकमा प्रदर्शन गर्दा राज्यले पनि सुनेन’ राई भन्छन् ‘बीचको बाटो खोज्ने क्रममा सहकारी सञ्चालन गर्दा बचतकर्ता र ऋणि दुबैलाई सहज हुने हाम्रो विश्वास छ ।’

सञ्चालक समितिको उपाध्यक्षमा गोकर्ण बरुवाल, सचिवमा दुर्गानाथ न्यौपाने र को षाध्यक्षमा प्रेम रेग्मी चयन भएका छन् भने सदस्यमा मिलन शाही, श्रीभद्र बराल, हरि चालिसे, शान्ति आचार्य र लक्ष्मी कँडेल छन् ।

त्यस्तै, राजेन्द्र पौडेलको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा तारापति सापकोटा र गोपाल गुप्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Exit mobile version