महिला हिंसाविरुद्ध सरकारले सम्पूर्ण स्रोत, साधन खर्चनेछः मुख्यमन्त्री पाण्डे

नयाँलिपिः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महिलाहरूले अहिले पनि लैङ्गिक, सामाजिक र पारिवारिक रूपमा विभेद र हिंसा खेप्नु परेको बताउँदै गण्डकी प्रदेश सरकारले महिला हिंसा विरुद्ध आवश्यक नीति र स्रोत साधन परिचालन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार महिला आयोगले पोखरामा आयोजना गरेको लैङ्गिक न्याय सम्बन्धमा स्थानीय सरकारका न्यायिक समितिसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले महिलाको हकअधिकार सुनिश्चित गर्दै महिला सशक्तीकरणका लागि नागरिक समाज र सम्बन्धित सरोकारवालासँग सहकार्य गरी सरकार अगाडि बढिरहेको उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले हिंसा लुकाउन र सहेर बस्नु हुँदैन भनिएता पनि हिंसाका बारेमा बोल्ने आँट गर्नु अहिले पनि चुनौतीपूर्ण रहेको स्पष्ट पारेका छन् ।

प्रदेश सरकारले मानव अधिकार, महिला अधिकार र बाल अधिकारको सुनिश्चितता गर्दै समतामूलक समाज निर्माणका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारको सहकार्यमा काम गर्दै आएको उल्लेख गरे।

महिलाहरूको क्षमता विकासका लागि सिपमूलक तालिम, आर्थिक तथा उद्यमशीलता एवं नेतृत्व विकासका कार्यक्रमहरू सञ्चालनमा रहेका छने भन्दै मुख्यमन्त्री पाण्डेले सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार र मानसिक स्वास्थ्य सबलताको विषयमा समेत गम्भीर रहनुपर्ने बताए ।

उनले गण्डकी प्रदेश सरकारले विकट क्षेत्रबाट ७३ जना गर्भवती महिलाहरूलाई एयर लिफ्टिङ गरी सुरक्षित प्रसुति सेवा उपलब्ध गराएको जानकारी दिए ।

आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले प्रदेशले महिलाको मृत्युदर घटाउनका लागि महिलामैत्री स्वास्थ्य प्रणाली र न्यायिक सहजकर्ताको व्यवस्था गरेको बताए ।

गण्डकी प्रदेश सरकारले ६५ वटा स्थानीय तहमा न्यायिक सहजकर्ता नियुक्त गरी सहजीकरण गरेको जानकारी दिँदै मन्त्री थापाले यस प्रदेशका ८ जिल्लामा हिंसा पीडित महिला तथा बालबालिकाका लागि सेवा केन्द्रको स्थापना गरी अल्पकालीन सेवा सञ्चालनमा ल्याएको बताएका छन् ।

Exit mobile version