नयाँलिपिः नयाँ वर्ष २०८२ को अवसरमा महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालको राष्ट्रिय झन्डा फहराउँदै नयाँ वर्षकाे शुभकामना र शुभ सुरुवात गरेका छन् ।
उँचो झन्डा फहराउँदै मेयर आचार्यले सहकार्य, समझदारी र साझा सपना बोकेर अघि सँगै बढ्न आह्वान समेत गरे । नयाँ वर्ष २०८२ मा सबै योजनाहरू समयमा नै सुरु हुने र तोकिएको समयमा नै सम्पन्न हुने आचार्यको विश्वास छ ।
समयको यथार्थ र संस्कृतिको सम्मान गर्दै तोकिएको घडीमै आरम्भ भएका कर्ममार्गले व्यक्तिलाई कर्तव्य, अनुशासन र आशाको सन्देश दिने बताउँदै उनले साझा उद्देश्य प्राप्तिका लागि समृद्धिको शिखरसम्म सँगै यात्रा गर्नुपर्ने सुझाए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीलगायत जनप्रतिनिधि र कर्मचारीहरूको सहभागिता रहेको थियो ।
