नयाँलिपिः कास्कीको चारै गाउँपालिका र पोखरामा गएराति चट्याङसहित हावाहुरी र वर्षा भएको छ ।
अप्रत्यासित र डरलाग्दो गर्जनसहित भएको वर्षाबाट जिल्लाभर कुनैपनि क्षति नभएको सूचना प्राप्त भएको छ । उक्त वर्षा र चट्याङको प्रभावबारे लिइएको सूचनाअनुसार जिल्लावासीको धनजन सुरक्षित छ ।
अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले दिएको जानकारी अनुसार पालिका क्षेत्रभर मध्यरात वर्षा र हावाहुरी आयो । केही घरका टिनका छाना उडाएपनि अन्य क्षतिको विवरण कार्यालय समयसम्म नआएको य केसीले जनाए ।
‘पानी आवश्यक थियो, क्षतिबारे केही खबर छैन, यद्यपि, यसबारे बुझिरहेको छु’ केसीले भने ।
यता, रुपा गाउँपालिकामा पनि कुनै क्षति नभएको पालिका अध्यक्ष नवराज ओझाले बताए ।
‘जनधन, वस्तुभाउ र खेतिपातीमो क्षति भएको सूचना छैन’ अध्यक्ष ओझाले जनाएका छन् ।
त्यस्तै, माछापुच्छ्रेमा पनि जनजीवन सामान्य रहेको पालिका अध्यक्ष मिनबहादुर गुरुङले बताए । ‘म पालिकामा बसेर जानकारी लिइरहेको छु, अहिलेसम्म सबै ठिकठाक रहेको छ’ अध्यक्ष गुरुङले भने ।
यसैगरी, मादी गाउँपालिकामा पनि कुनै क्षति नरहेको अध्यक्ष देविजंग गुरुङले बताएका छन् ।
‘कुनैपनि नराम्रो घटना घटेको छैन, सबै सुरक्षित छ । बरु, पानी परेर हामीलाई औषधिको काम भयो, बालीनाली र तरकारी खेतिलाई आवश्यक परिरहेको थियो’ गुरुङले सुनाए ।
जिल्ला र नगर क्षेत्रमा हालसम्म कुनैपनि नराम्रो खबर नरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ‘मातहतका कार्यालयबाट कुनैपनि क्षतिको सूचना आएको छैन, यसकारण नराम्रो नहोला’ प्रहरीले जनाएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ।