याद गर्नुहोस् ! बेलायतमा गणतन्त्रका नायकलाई चिहानबाट निकालेर फाँसी दिइएको छः राजेन्द्र लिङदेन

नयाँलिपिः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बेलायतमा राजा फालिएपछि ११ वर्षभित्रै पुनःस्थापना गरिएको इतिहास पढ्न सुझाएका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङदेनले राजा आएपछि मरिसकेका गणतन्त्रका नायक क्रमवेलको चिहानबाट कंकाल निकालेर फाँसी दिएको स्मरण गराए ।

सन् १६५८ को घटनाबाट शिक्षा लिन अनुरोध गर्दै लिङदेनले शुक्रबार भएको आन्दोलनलाई अवमूल्यन नगर्न चेतावनी दिए । ‘के तपाइहरु हिजोको दिनमा तोडफोड नगरी आएको हो ? उनको प्रश्न छ ‘के तपाइहरु मान्छे नमारी आएको हो ?’

उनले सविन महर्जनलाई सडक छेउमा बसेकाबेला गोली हानेर मारेको भन्दै उक्त घटनाको स्वतन्त्र न्यायिक छानबीन आयोग गठन गरी दोषिमाथि कारवाही गर्न माग गरे ।

सोही प्रसंगमा उनले व्यंग्यात्मक शैलीमा भने ‘तपाइहरु यहाँसम्म भजन–कीर्तन गाएर, मादल बजाएर आएको हो ?’

जबसम्म नेताहरु सुध्रिदैनन् तबसम्म विरोध भइरहने भन्दै उनले गणतन्त्रसमेत फालिनसक्ने चेतावनी दिए । अहिलेको युवा पुस्ता सचेत र शिक्षित भएको भन्दै भ्रम नफैलाउन सरकारलाई उनको अनुरोध छ ।

‘तपाइहरुको किर्ते कुरालाई युवा पुस्ताले विश्वास गर्दैन’ उनले भनेका छन् ‘आठ वर्षअघि ६ अर्ब रिन थियो अहिले २७ अर्ब कसरी पुग्यो ?’

Exit mobile version