२ चरणको छलफलपछि पनि टुंगो लागेन कोटी होमस्थल

नयाँलिपिः मानवसेवा फाउण्डशनले पोखराको बाराहीघाटमा आयोजना गर्ने कोटीहोमको भूमि पूजनकाक्रममा भएको मुठभेडपछि उक्त स्थान विवादमा परेको छ ।

आयोजक र पोखरा महानगर प्रहरीबीच भएको मुठभेडपश्चात् नयाँ ठाउँ खोजी गर्न गत मंगलबार ५ सदस्यीय विवाद समाधान समिति गठन गरिएको थियो ।

उक्त समिति र आयोजक फाउण्डेशनबीच हालसम्म २ चरणमा छलफल भइसकेको छ । तरपनि कोटी होमस्थलबारे टुंगो लाग्न सकेको छैन ।

आयोजक स्रोतकाअनुसार समितिले पोखराको बैदाम क्षेत्रबाट टाढा रहेको तीनवटा वडामध्यबाट कोटीहोमस्थल छनाैट गर्न प्रस्ताव गरेको छ । उक्त स्थान कुनैपनि हालतमा पायक नपर्नै फाउण्डेशनका जिम्मेवार सदस्यले बताए ।

‘हाम्रो कोटी होमस्थल बाराहीघाट नै हो, अदालतले २ पटक उक्त स्थान सदर गरिसकेको छ’ उनले भने ‘भोली बैदामवासीले समेत यस विषयमा दबाब दिने कार्यक्रम रहेको छ ।’

उनका अनुसार फाउण्डेशनले पनि लचकता अपनाइरहेको छ । तर दर्शनार्थी एवं आयोजकलाई थप भार भार पर्ने स्थान भने मान्य नहुने उनी बताउँछन् ।

‘वैशाख २७ गतेदेखि सुरु हुने कोटीहोमको तयारी गर्न हामीलाई ढिलो हुन लागिसक्यो, हामीले बाराहीघाटको नाममा धेरै खर्च गरिसकेका छौं’ उनले भने ।

नयाँलिपिलाई जानकारीमा आए अनुसार बैदाम युवा परिषद्ले फाउण्डेशनको पक्षमा लबिङ् गर्दै बाराहीघाटमा कोटीहोम गर्न दिन शनिबार महानगरलाई दबाब दिने कार्यक्रम राखेको छ ।

फागुन २३ गते भूमि पूजनकाक्रममा दुबै पक्षका गरी दर्जन बढी घाइते हुँदा बाराहीघाट क्षणभरमै रणमैदान बनेपछि उक्त स्थानमा कोटीहोम गर्न नदिने महानगरको अडान छ ।

Exit mobile version