नयाँलिपिः मानव सेवा फाउन्डेसनको आयोजनामा हुने कोटिहोम पोखराको बिरौटामा हुने भएको छ ।
बिरौटास्थित सदा शिवजी शिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको गुठी परिसरमा कोटीहोम गर्न पोखरा महानगरले अनुमति दिएको छ ।
बाराहीघाट क्षेत्रमा गत फागुन २३ गते कोटिहोम महायज्ञ स्थलको भूमि पुजन गर्ने क्रममा पोखरा महानगरपालिकाका नगरप्रहरीले भूमि पुजन रोक्न खोजेपछि दुवै पक्षबीच झडपको स्थिति सिर्जना भएको थियो ।
जिल्लाका सुरक्षा निकायका प्रमुख, पोखरा महानगरपालिकाकी उपप्रमुख, वडाध्यक्ष, कार्यपालिकाको सदस्य, पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, विश्व हिन्दू महासंघका प्रतिनिधि, कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा बैठक बसी कोटिहोम सञ्चालन गर्न दिने निर्णय गर्दै समस्या समाधान समिति गठन गर्ने निर्णय गरेको थियो ।
उक्त समितिले वैकल्पिक स्थानको खोजी गरी अन्ततः कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं। ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वार्ड नं. १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (शिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति)को स्वामित्वमा रहेको जमिन तथा आसपासका स्थानीयको जमीन भाडामा लिएर सञ्चालन हुने भएको छ ।
पोखरा महानगरपालिकाले कोटिहोम महायज्ञका लागि वैकल्पिक स्थान खोजेर महानगरपालिकाकै स्वामित्वमा कोटिहोम सञ्चालन हुने गरी आयोजकलाई अनुमति दिएपछि आयोजक मानव सेवा फाउन्डेसन नेपाल विरौटामा नै कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि तयार भएको हो ।
पोखरा १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर व्यवस्थापन समिति, समस्या समाधान वार्ता समिति, पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्कीले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिएपश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन नेपाल कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको छ ।

आइतबार महायज्ञका संकल्पकर्ता विजय श्रीकृष्ण मूर्तीसामु महायज्ञस्थल आसपासमा रहेका आमा समूहका प्रतिनिधि, टोल विकास समितिका प्रतिनिधि, स्थानीय संघसस्थाका प्रतिनिधिले कोटीहोम सफल बनाउनका लागि ऐक्यबद्धता समेत व्यक्त गरेका छन् ।
कोटीहोमको मिति चैत १७ गते देखि २०८२ जेठ २६ गतेसम्म तोकिएको छ ।