दिपक के श्रेष्ठः गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पाँचौ वर्षमा प्रवेश गरेको छ । पोखराको नदीपुरमा स्थापित प्रतिष्ठानले यसबीच के–कस्ता काम ग¥यो भनेर आज पत्रकारसामु बेलिविस्तारसमेत लगायो ।
०७५ सालमा स्थापित प्रतिष्ठानले यसबीच पूर्वाधार निर्माणसँगै अधिकतम समय प्रशिक्षण सञ्चालन र अध्ययन तथ अनुसन्धानमा खर्चिएको छ ।
प्रतिष्ठानमा स्थापनाकालदेखि कार्यकारी निर्देशकको जिम्मेवारीमा रहि हालै निवृत्त भएका ऋषिराम पाण्डेका अनुसार १८ हजार ८३० जनालाई विभिन्न तालिम दिइएको छ । उक्त संख्यालाई प्रशिक्षित गर्न ४ सय ८५ तालिमको आयोजना गरियो ।
सरकारी कर्मचारीको क्षमता विकास वृद्धि गर्न प्रशिक्षण दिने प्रतिष्ठानको वार्षिक बजेट करिब ७ करोड रुपैयाँको हाराहारीमा रहेको पाण्डेले बताए । यद्यपि, कोरोनालगायत केही प्रतिकुलताले बजेटको ७० प्रतिशतमात्र खर्च भएको उनको भनाई छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन–२०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले संघीयताको कार्यान्वयनलाई प्रभावकारी बनाउन र आवश्यक सेवा प्रवाहमा प्रतिष्ठानले इमान्दारिताकासाथ काम गरेको पाण्डेको धारणा छ ।
पत्रकारसमक्ष प्रतिष्ठानका भावी योजनासमेत दर्शाउँदै उनले आगामी दिनमा प्रतिष्ठानले तीनै तहका नेतालाई एकै ठाउँमा प्रशिक्षण दिने उद्देश्य रहेको बताए ।
प्रतिष्ठानले कार्ययोजना बढाउनेदेखि आत्मनिर्भर हुन तालिममार्फत आयआर्जन गर्ने रहेको पनि उनको भनाई छ । ‘सरकारको बजेटमामात्र भर नपरि तालिम सञ्चालन गरेर प्रदेशको व्ययभार कम गर्न सकिने योजना रहेको छ’ उनले सुनाए ।
आयको दायरा बढाउन स्थानीय निकाय र प्रदेश सरकारलाई परामर्श सेवा दिने, कन्सल्ट्यान्टकारुपमा काम गरिदिने योजना प्रतिष्ठानको रहेको छ ।
‘प्रतिष्ठानलाई ‘नमुना सुशासन केन्द्र’का रुपमा अघि बढाउने लक्ष्य रहेको छ’ पाण्डेले बताए ।
प्रतिष्ठानमा बिताएका ५ वर्षसँगै भावी योजना प्रस्तुत गरेपनि उनका योजनालाई पुरा गर्ने दायित्व भने अब नियुक्त हुने कार्यकारीको काँधमा पर्नेछ । प्रतिष्ठानले नयाँ कार्यकारी निर्देशकको परिपुर्ति गर्न विज्ञापन खुलाइसकेको छ ।