प्रधानमन्त्री–प्रधानमन्त्री खेल्नेलाई अब ‘आउट’ गर्नुपर्छः महामन्त्री थापा

नयाँलिपिः नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बीसौं वर्षदेखि पालैपालो प्रधानमन्त्रीको खेल खेल्दै, दोहोरिँदै गर्ने शीर्ष नेताहरुलाई अब पाखा लगाउनुपर्ने अभिव्यक्ति दिएका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको दोस्रो दिन आयोजित ‘निराशाः व्याख्या र वास्तविकता’ सत्रमा बोल्दै नेपाली राजनीतिमा सिमित नेताहरु पालैपालो प्रधानमन्त्री–प्रधानमन्त्री खेल खेलेर दोहोरिने प्रवृत्तिउपर कटाक्ष गरेका हुन् ।

देशमा हाल देखिएको निराशाकोकारण प्रधानमन्त्रीको कुर्सीमा आलोपालो दोहोरिनु पनि एक भएको उनको भनाई छ । ‘सुशासन डेलिभरी गर्न नसकेको तथ्य म स्वीकार्छु’ उनले भने ‘प्रधानमन्त्री प्रधानमन्त्री खेल्ने परिपाटी पनि उत्तिकै जिम्मेवार छ ।’

कांग्रेस र एमालेको सरकार रहेको र बहुमत भएको जस्तो बाहिर देखिएपनि दुबै पार्टीको एजेण्डा फरक हुँदा विकास र प्रगतिले गति लिन नसकेको उनले सुनाए ।

गलत गर्नेमाथि कारवाही हुनुपर्ने आफ्नो मान्यता कायमै रहेको भन्दै उनले भुटानी शरणार्थीको मुद्दामा आफुलाई पार्टीको बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेको बताए । शरणार्थी काण्ड होस् वा सहकारी दोषिमाथि कारवाही हुनुपर्ने आफ्नो अडान कायमै रहेको उनको भनाई छ ।

उक्त सत्रमा थापासँगै सामुदायिक शिक्षा अभियन्ता स्वस्तिका श्रेष्ठ र समाज अनुसन्धाता जीवन बानियाँले निराशाकाकारण र आशाका किरणबारे धारणा राखेका थिए ।

Exit mobile version