एमाले कास्की तीन महिना वडा केन्द्रित हुने, युवालाई लक्षित गरिने

नयाँलिपिः नेकपा (एमाले) कास्कीले तीन महिने वडा केन्द्रित पार्टी निर्माण अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गतको अभिमुखीकरण कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै एमाले महासचिव शङ्कर पोखरेले अबको पार्टी निर्माणको अभियान युवा लक्षित हुनुपर्ने बताए । उनले पार्टीमा युवालाई आकर्षण गर्ने कार्यक्रमलाई प्राथमकिता दिनुपर्ने बताउँदै सोही अनुरुप अभियानलाई अघि बढाउन निर्देशन दिए ।

‘४० वर्ष मुनिको मतदाता संख्या ६० प्रतिशत छ’ पोखरेलले भने, ‘चुनावमा ४० वर्ष मुनिको मतदाता नै निर्णायक हुने भएकाले युवालक्षित गतिविधि आवश्यक छ, यसमा पार्टीका सबै तहका कमिटीले ध्यान दिनुपर्छ ।’

पार्टी सबै ठाउँमा पुग्न नसक्ने भएकाले जनसंगठनले टोल–टोलमा कमिटी गठन गरेर पार्टीलाई बिस्तार गर्नुपर्ने उनको भनाइ छ । ‘

‘एमालेको टोल–टोलमा कमिटी निर्माण गर्नुपर्छ’ उनले भने, ‘तल्लो तहको कमिटी निर्माण गर्दा पनि युवालाई नै समेट्नु पर्छ, पार्टीलाई सुदृढीकरण गर्ने पहिलो प्राथमिकता नै युवालाई आकर्षित गर्ने हो ।’

कार्यक्रममा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टीको आन्तरिक जीवनमा एकता कायम नभएको टिप्पणी गरे। उनले पार्टीमा देखिएको दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई सबै मिलेर परास्त गर्नुपर्ने बताए ।

सरकारका प्रवक्तासमेत रहेका गुरुङले सरकारले गरेको राम्रा कामको प्रचार हुन नसकेकोमा दुख व्यक्त गरेका छन् ।

एमाले सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारीले अभीमुखीकरण कार्यक्रममा बोल्दै जुन भावना र मर्मअनुसार एमाले र कांग्रेसको गठबन्धन भएको हो, सोहीअनुसार काम हुन नसकेको विश्लेषण गरे ।

कार्यक्रम एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

Exit mobile version