नयाँलिपिः पोखरा महानगरपालिका वडा २६ को चापाकोचौरमा सुविधासम्पन्न प्रादेशिक आयूर्वेद चिकित्सालय निर्माणको तयारी सुरु भएको छ ।
पोखरा आएका संघीय स्वास्थ्य मन्त्री प्रदिप पौडेलले प्रादेशिक आर्युवेद चिकित्सालय निर्माणस्थलको निरीक्षण गरेका छन् ।
सुविधा सम्पन्न सय शैयाको चिकित्सालय निर्माणका लागि सरकारले विस्तृत योजना प्रतिवेदन (डिपिआर) तयार गरी टेण्डर प्रक्रिया अगाडी बढाउन लागेको छ । यसका लागि चालु आर्थिक बर्षमा दश करोड रुपैयाँ विनियोजन भएको छ ।
जग्गाको निरिक्षण पछि मन्त्री पौडेलले भौगोलिक बनावट र वातावरणका हिसाबले निर्माणस्थल राम्रो रहेको उल्लेख गर्दै, चिकित्सालयको निर्माणले पार्ने सकरात्मक र नकरात्मक प्रभावका बिषयमा तयार गर्ने प्रतिवेदन छुटेकोमा त्यो पनि पुरा भएको बताए ।
मन्त्री पौडेलले राष्ट्रिय योजना आयोगमा योजनाका लागि पठाउँदा प्रारंभिक वातावरणिय प्रभाव मुल्यांकन प्रतिवेदन छुट भएको पाएपछि त्यसलाई पनि टेण्डर प्रक्रियाद्वारा सेवाप्रदायक संस्था छनौट गरी तयार गरिएको जानकारी दिएका छन् ।
उनले विनियोजन भएको दश करोड रुपैयाँ अर्थ मन्त्रालयले श्रोत सुनिश्चित गरे लगत्तै सम्पूर्ण प्रक्रिया पुरा गरी निर्माणको बोलपत्र आब्हान गरिने उल्लेख गरे ।
चिकित्सालय निर्माणका लागि स्थानीय समुदायसँग सहकार्य गरी २५ रोपनी जग्गा उपलब्ध गराईएको र थप दश रोपनी जग्गाका लागि सुनिश्चितता गरिएको पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले बताए ।
अध्यक्ष थापाका अनुसार यसअघि २५ शैयाको चिकित्सालय निर्माण गर्ने तयारी भएकोमा प्रदेश सरकारले नै संघीय सरकारलाई सय शैयाको चिकित्सालय निर्माणका अनुरोध गर्दै, उक्त जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो ।
संघीय सरकारले सातै प्रदेशमा एक/एक वटा प्रादेशिक आयूर्वेद चिकित्सालय निर्माण गर्ने निर्णय गरेपछि गण्डकी प्रदेशका लागि उक्त स्थान प्रस्ताव गरिएको थियो ।