पर्वत। जिल्ला अस्पताल पर्वतको निर्माणाधिन पक्की भवनको काम ठेकेदारले समयमा सम्पन्न नगरिदिदा सर्वसाधारण प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् ।
ठेकेदारले भवन निर्माणमा ढिलासुस्ती गरिदिए पछि अस्पताललाई ५० शैया बेड क्षमतामा रुपान्तरण गर्ने लक्ष्य पुरा नहुने पर्वतबासीलाई चिन्ता छ ।
समयमा अस्पताल भवन निर्माणको काम पुरा हुन नसक्दा गर्भवतीका लागि व्यवस्थित वार्ड, अप्रेसन कक्ष, आइसियु जस्ता सेवा प्रदान गर्नका लागि स्थानको अभाव भएको अस्पतालले जनाएको छ ।
सघन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बाग्लुङका प्रमुख इन्जिनियर कृष्ण महर्जनले पाउनु पर्ने जति रकम पाएर पनि समयमा काम सम्पन्न गर्नु जायज नभएको बताउँदै अस्पताल भवन निर्माणको काम लामो समय रोकिएको गुनासो गरे ।
‘विचमा केही समय धिमा गतिमा काम गरेजस्तो देखियो तर यतिखेर फेरि केही हप्ता देखि रोकेको भन्ने सुनेर ठेकेदारलाई सोधपुछ गर्दा आर्थिक अवस्था मिलाएर केही दिनमा काम थाल्छु भन्ने छ ।
काम अनुसार भुक्तानी गरिदा पनि निर्माणको कामले गति लिएन भनी गुनासो आउनु जायज भएको छैन ।’ उनले भने
जिल्ला अस्पताल संचालक समिति अध्यक्ष शंकर गिरीले भवन निर्माणको कामलाई ठेकेदारले समयमा पुरा नगरिदिदा आइसियु सेवा, अप्रेसन थिएटर, भिडियो एक्सरे लगायतका सेवाहरु व्यवस्थित तवरले प्रदान गर्न नसकिएको गुनासो गर्दै गरीव जनताको स्वास्थ्य सेवासँग जोडिएको अस्पताल भवन निर्माण समयमा नहुँदा थुप्रै कठिनाई भएको बताए ।
अस्पतालले प्रदान गर्ने सेवा विस्तार गर्न पाइएको छैन । ‘१५ शैयाको अस्पताललाई ५० शैयाको अस्पतालमा रुपान्तरण गर्नु हाम्रो लक्ष्य हो । अस्पतालको स्वास्थ्य सेवा गुणस्तरीय र प्रभावकारी बनाउन पनि भवन निर्माणको काम छिटो सम्पन्न भइ दिओस् भन्ने हाम्रो चाहना हो तर किन निर्माणको काम रोकिएको छ भन्ने कुरा नै बुझ्न सकिएको छैन ।’ उनले भने ।
जिल्ला अस्पतालको दुई तले पक्की भवन निर्माणका लागि २०७५ असारमा श्याम सुन्दर गोर्खा जे.भी. कन्सट्रक्सन कम्पनीसँग सम्झौता भएको थियो । सम्झौता अनुसार २०७८ साल भित्र भवन निर्माणको काम सम्पन्न भैसक्नु पर्ने भए पनि ६ वर्ष पुरा हुँदा समेत ठेकेदारले निर्माण पुरा गरेको छैन ।
पटक पटक निर्माण अवधिका लागि म्याद थप गर्दै आएको निर्माण कम्पनिले असार मसान्तसम्मको म्याद थप गरेको बताइएको छ ।
सघन शहरी विकास कार्यालयका ईन्जिनियर सुशिल आचार्यका अनुसार भवन निर्माणको कुल लागत १८ करोड रहेकोमा ठेकेदारले करीव ८५ प्रतिशत रकम भुक्तानी लगिसकेको छ ।
अस्पतालले निर्माण गर्न लागेका कुल ५ वटा व्लक मध्ये ए, वि, सी व्लक निर्माण सम्पन्न भए पनि डि र इ व्लकको निर्माण कार्य डेढ वर्षदेखि रोकिएको छ ।
अस्पताल भवन निर्माण कम्पनीका साइट इन्जिनियर अमित पाण्डेको भवन निर्माणको काम ९२ प्रतिशत सम्पन्न भइ सकेको दावी छ ।
ईन्जिनियर पाण्डे भन्छन् –ू दुई तले भवन निर्माणको काममा भेरिएसनका कारण केही ढिलाई भएको हो । निर्माणको अन्तिम चरणमा छौं । भित्री कोठाहरु र केही बाहिरी भागमा रंगरोगन, विद्युत जडान, प्लम्विङ लगायत फिनिसिङका केही काम बाँकी छ । अव धेरै समय लाग्दैन ।ू
अस्पतालले दैनिकजसो करीव ३ सय जनालाई ओपीडि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।
अस्पताल प्रमुख डाक्टर हेमन्त बास्तोलाका अनुसार अस्पतालले डायलायसिस, फिजियोथेरापी, आँखा उपचार, पोषण पुर्नस्थापना लगायतका स्वास्थ्य सेवाहरु प्रदान गर्दै आएको छ । निर्माणाधिन भवनको फिनिसिङका केही काम समयमै पुरा नगर्दा स्थान अभाव भई गर्भवतीका लागि व्यवस्थित वाड, अप्रेसन कक्ष, डाइग्नोटिस सेवा प्रदान गर्न कठिन भएको डाक्टर बास्तोलाको गुनासो छ ।