रवि लामिछानेसँग रुपन्देही अदालतले माग्यो १ करोड धरौटी, आज नबुझाए थुनामा

नयाँलिपिः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले यस्तो आदेश गरेको हो ।

प्रहरीले सुप्रिम सहकारी प्रकरणमा रकम ठगीमा पहिलो चरणको अनुसन्धान गरेर गत वैशाख २ गते २८ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । फेरी असोज ५ गते रवि लामिछानेसहित १४ जनाविरुद्ध पूरक जाहेरी लिएर इलाका प्रहरी कार्यालयले मुद्दा चलाएको हो ।

लामिछाने कानुनी प्रक्रियामा सहभागी हुन माघ ९ गते बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए । सो दिन बयान सकिएपछि लामिछानेलाई परिवार तथा कानुन व्यवसायीको जिम्मा छाडिएको थियो । भोलिपल्ट अर्थात बिहिबारदेखि बहस सुरु भएको थियो ।

यतिबेला लामिछाने र उनका सहयोगीहरु धरौटीको जोरजाम गर्न अदालतमै छन् । ‘उहाँहरु अहिले अदालतमै हुनुहुन्छ, धरौटीको तारतम्य मिलाउँदै हुनुहुन्छ’ अदालतका शाखा अधिकृत कुमार खतिवडाले नयाँलिपिसँग भने ‘आज धरौटी नआए सम्भवतः थुनामा पठाइनेछ, उहाँहरुले अहिले समय माग्नुभएको छ ।

सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।

Exit mobile version