पोखरामा जारी टाइगर कप भलिबलमा गण्डकी प्रदेशको टिममा ३ प्रमुख विदेशी खेलाडी छन् । जसमध्ये प्रमुख खेलाडी हुन् कंगोका यानिक सेशा । निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक खेलका बावजुद पनि विभागीय टिभ नेपाल पुलिस क्लबसँग हार ब्यहोरेपछि उनै सेशाले नयाँलिपिसँग गरेको छोटो कुराकानीको अंशः
आजको खेलको अनुभव कस्तो रह्यो ?
– अवर्णनीय, यो मेरो पहिलो नेपाल भ्रमण र पहिलो खेल हो । केही असहज तर रमाइलो भयो । राम्रो कमब्याक गरेर पनि हार्दा केही दुखी छु ।
टिममा खेलाडीबीच भाषाको समस्या भयो कि भएन ?
– पक्कै पनि केही समस्या त भयो नै । जसले खेल संयोजनमा केही फरक पारेको छ । यद्यपि, प्रशिक्षकसँग समन्वय गरेर टिमवर्क मिलाइरहेका छौं ।
खुल्ला आकाशमा खेल्दा कस्तो महशुस भयो ?
– भलिबल मुलतः इन्डोर नै खेलिन्छ । मैले कहिलेकाही खुल्ला ठाउँमा पनि खेलेको छु । तर व्यावसायिक खेलमा केही असहज नै हुन्छ । मलाई पनि धेरथोर असहज भयो । शायद पहिलो खेल भएर होला ।
आगामी खेलको योजना रणनीति कस्तो रहला ?
– हारपछि केही फरक योजना बनाउँनै पर्छ । टिम कोचसँग अब यसबारे पक्कै छलफल हुनेछ र केही नयाँ रणनीति बन्नेछ । हामी अर्काे खेलमा तपाइहरुलाई जीतको उपहार दिनेछौं ।
पोखरा र स्थानीयप्रति केही भन्न चाहनु हुन्छ ?
– पोखरा फोटोमा देखे, हेरे भन्दा धेरै भिन्न र विशेष रहेछ । यहाँको हिमाल र मान्छेले मन जित्यो । प्रकृति र स्थानीयप्रति नतमस्तक छु ।
अनि, दर्शक ?
– दर्शकले कुनैपनि खेललाई स्पेशल बनाउँछन् । अझ यहाँको स्टेडियममा भरिएको दर्शकको भलिबल मोह र खेलप्रतिको उत्साहलाई तत्काल बयान गर्न सक्दिन । ‘जस्ट वाउ एण्ड अमेजिङ् !’