पोखरामा अर्थमन्त्रीले भने –‘भुइँफुट्टाहरुले भन्दैमा सरकार ढल्दैन’

नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले केही भुइँफुट्टाहरुले भन्दैमा सरकार नढल्ने बताएका छन् ।

बुधबार बिहान पोखरामा नेकपा एमाले, जिल्ला कमिटीका अगुवा कार्यकर्ता भेलामा बोल्दै अर्थमन्त्री पौडेलले सरकारको स्थायित्वको हल्ला चलाइएको बताउँदै उनले सरकारलाई हल्लाउन कोशिस गरिरहेको तर भुइँफुट्टाहरुले हल्ला गर्दैमा सरकार नढल्ने टिप्पणी गरेका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच उच्चस्तरीय संयन्त्र रहेको बताउँदै उनले राष्ट्रिय समस्या र राजनीतिक अस्थिरतालाई रोक्न दुई पार्टी मिलेर सरकार बनाएको बताए ।

‘मुलुकको लोकतन्त्र बचाउँन, विकास गर्न सरकार बनेको हो’ उनले भने ‘हामीबीचको समीकरण ०८४ सालको निर्वाचनसम्म निर्वाध जान्छ ।’

उनले एमाले सरकार जोगाउन र टिकाउनमात्र गएको नभई जनतालाई परिवर्तन र समृद्धि दिन लागिपरेको उल्लेख गर्दै भने ‘हाम्री जतिबेलासम्म सरकारमा रहन्छौं, केही न केही राम्रो काम गर्छाै ।’

हाल सरकारले सदन छलेर अध्यादेश ल्याएको आलोचना भइरहेकाबेला उनले सरकारसँग स्पष्ट बहुमत भएकाले सदन छल्न जरुरी नभएको जनाए । ‘अहिले ल्याएको अध्यादेश अब हुने संसदको अधिवेशनबाट पारित हुनेछ, बहुमत छ, छलेर ल्याउन आवश्यक छैन’ पौडेलले स्पष्ट पारे ।

यसबीच अध्यादेशसहित २९ कानून संशोधनको तयारीमा रहेको बताउँदै उनले व्यवसायी, लगानीकर्ता, सञ्चार प्रविधिलगायतका क्षेत्रबात अध्यादेशको प्रशंसा भएको दाबी गरे ।

‘व्यापारी साथीहरुले प्रधानमन्त्रीलाई भेटेरै अध्यादेशको स्वागत गर्नुभएको छ’ पौडेलले भने ‘अमेरिकी र बेलायती राजदूतले पनि अब नेपालमा अन्तर्राष्ट्रिय लगानीको ढोका खुलेको प्रतिक्रिया दिएका छन् ।’

यस सरकारले अर्थतन्त्रको सूचकलाई पनि सुधारेको उनले सुनाए । सरकारमा जाँदा अर्थका सूचकहरु रातै भएको बताउँदै हाल पहेंलोबाट बिस्तारै हरियोतर्फ गइरहेको उनको भनाई छ ।

कार्यकर्ताले हालै पार्टीबाट निष्काशित नेता भीम रावलकाबारेमा राखिएका प्रश्नमा उनले रावललाई किस्तीमा राखेर उपाध्यक्षको पद दिएको तर नमानेर अधिवेशनमा होमिएपछि अध्यक्ष पदमा पराजित भएको उल्लेख गरे ।

‘पार्टीको डिलमा बसेर जथाभावी बोल्ने, पार्टी पनि नछाड्ने प्रवृत्ति थियो’ उनले भने ‘पार्टी अध्यक्षसँग २ घण्टा छलफल गरेर निस्किएपछि पनि हिरोइज्म देखाउँदै पार्टीविरुद्ध लाग्नुभयो ।’ रावल अवसर पाएमात्रै पार्टी ठिक हो भन्ने नत्र व्यक्तिवादी सोंचबाट अघि बढ्ने रोगले ग्रस्त भएको उनको प्रतिक्रिया छ ।

त्यस्तै, निलम्बित नेताकोहकमा उनले सामाजिक सञ्जालमा भाइरल हुन व्यक्तिवादी अभिव्यक्ति दिएपछि कारवाही गरेको सुनाए । ‘निश्चित समयकालागि कारवाही गरिएको हो, यसबीच उहाँहरुको गतिविध पार्टी हितमै भइरहे पुनः जिम्मेवारी पाउनु हुनेछ ।

Exit mobile version