बिक्रेताबीच प्रदेश प्रमुखले भनेः –’निजी क्षेत्र नफस्टाउँदा अर्थतन्त्रमा समस्या’

नयाँलिपिः गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले निजी क्षेत्र अर्थतन्त्रको उर्जा र रोजगारीको श्रोत रहेको बताउनुभएको छ । अधिकृत विक्रेता संघ, पोखराको १८ औं वार्षिक साधारणसभामा प्रमुख अतिथि भट्टले निजी क्षेत्र फस्टाउन सकेन भने अर्थतन्त्र नै समस्यामा पर्ने उल्लेख गर्नुभयो ।

‘आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने उद्देश्यले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने सरकार बाहिरको क्षेत्र निजी क्षेत्र होे । निजी क्षेत्र आर्थिक अवसर र रोजगारीको स्रोत हो । निजी क्षेत्र अर्थतन्त्रको ऊर्जा पनि हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिँदै उहाँले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमामात्रै समृद्धि र विकास सम्भव रहेको बताउनुभयो ।

लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले सहज वातावरण सिर्जना गरी निजी क्षेत्रलाई विकासको वास्तविक साझेदार बनाउनुपर्नेमा जोड दिनुभयो ।

सन् १९९० यता नेपालको निजी क्षेत्रको वृद्धि गुणात्मक रहेको र पछिल्लो तथ्यांक अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा निजी क्षेत्रको योगदान करिब ८१ प्रतिशत तथा कुल रोजगारी सिर्जनामा ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको उल्लेख गर्दै उहाँले यसकारण नेपालको अर्थतन्त्र विस्तारका लागि निजी क्षेत्रको भूमिका निकै महत्वपूर्ण रहेको बताउनुभयो ।

Exit mobile version