नयाँलिपिः लेखनाथ क्षेत्रको गौरव मानिने लेखनाथ महोत्सव सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार महोत्सवको औपचारिक उद्घाटन गरेका छन् ।
कास्कीको लेखनाथमा सुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवको आयोजकमा लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ रहेका छन् । महोत्सवको उद्घाटनकाक्रममा मुख्यमन्त्री पाण्डेले मेला, महोत्सवलाई पर्यटन र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताए । उनले स्थानीय क्षेत्रका आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने उल्लेख गर्दै पर्यटनलाई पनि सँगै समेटेर लानुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको जनाउँदै प्रदेशको समृद्धिका लागि स्थल र हवाइ सम्पर्क चुस्त हुनुपर्नेमा जोड दिए । यस क्षेत्रमा निर्माणधीन सडकहरु आगामी वर्षभित्र सम्पन्न भइसक्ने विश्वास व्यक्त गर्दै उनले त्यसपछि सडक मार्गबाट आवतजावत गर्न कुनै असुविधा नहुने जनाए ।
पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सबै तहमा लबिइङ भइरहेको उनको भनाइ छ । मुख्यमन्त्री पाण्डेले विदेशी वस्तु ल्याउने र बेचेरमात्र आर्थिक अवस्थामा सुधार नआउने भएकाले अब उत्पादनतर्फ लाग्नैपर्नेमा जोड दिए ।
त्यस्तै, गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले निजी क्षेत्रबाट ञ्ंचालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउँदै युवालाई स्वदेशमा नै केही गर्न सकिने सन्देश प्रवाह गर्ने जनाए । उनले सानो पुँजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडि बढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास दिलाए ।
पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले यस प्रकारका मेला, महोत्सवले स्थानिय उत्पादनलाई प्रवद्धन गर्नेदेखि स्थानहरुको पहिचान स्थापिन गराउन पनि सहयोग पुगेको विचार राखे । कवि शिरोमणि लेखनाथको नामबाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाँचो उनले औल्याए ।
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २० औं संस्करणसम्म आईपुगेको स्मरण गरे । उनले अनेक चुनौतीका बाबजुत पनि अवसरका रुपमा महोत्सव गर्दै आएको र यसले लेखनाथ क्षेत्रको पहिचान, त्यहाँ उत्पादीत वस्तुहरुको बजारीकरण र पर्यटन विकासमा समेत सहयोग पुगेको दाबी गरे ।
३३६ स्टल रहेको महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ ।