गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखराको लेखनाथमा आयोजित ‘२१औँ लेखनाथ महोत्सव’को भव्य समारोहका बीच उद्घाटन गरेका छन्।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पोखरा महानगरपालिका–२७, तालचोकमा सुरु भएको महोत्सवलाई मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक गतिविधिसँग जोडेर विशेष महत्त्व दिएका छन्।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले लेखनाथ महोत्सव लामो समयदेखि आफ्नै विशिष्ट पहिचान बोकेको कार्यक्रम रहेको बताए। उनले यसलाई केवल रमाइलो गर्ने मेलाका रूपमा मात्र नभई ‘आर्थिक उत्सव’का रूपमा व्याख्या गरे।
‘यो महोत्सव धार्मिक तथा सांस्कृतिक पक्षको जगेर्ना गर्ने मञ्च मात्र होइन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यो पर्यटन, व्यापार, उद्यमशीलता र रोजगारीसँग प्रत्यक्ष जोडिएको छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन र सुस्ताएको बजारलाई उकास्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
प्रदेश सरकारको प्राथमिकता सुनाउँदै मुख्यमन्त्रीले गण्डकी प्रदेशका लागि पर्यटन नै आर्थिक विकासको पहिलो र मुख्य मेरुदण्ड भएको स्पष्ट पारे। उनले पोखरा नेपालको घोषित पर्यटन राजधानी भएको सन्दर्भ कोट्याउँदै, यस क्षेत्रको पहिचानलाई थप सुदृढ बनाउन यस्ता महोत्सवहरू सहयोगी हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘हामी पोखरा र गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई आतिथ्यता, साहसिक पर्यटन, मौलिक संस्कृति र उद्यमशीलताको केन्द्रका रूपमा विकास गर्ने ठोस योजनाका साथ अघि बढेका छौँ।’
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ सुरु भएको यो महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा विशेष जोड दिएको छ।
आयोजक लेखनाथ उद्योग वाणिज्य संघका अनुसार, आज (बिहीबार) देखि सुरु भएको यो महोत्सव आगामी पौष १४ गतेसम्म चल्नेछ।
महोत्सवमा कृषि, हस्तकला, अटोमोबाइल्स, दैनिक उपभोग्य वस्तुहरूका स्टलहरूका साथै विविध सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहनेछ। महोत्सवले स्थानीय व्यवसायी र उपभोक्ताबीच पुलको काम गर्ने अपेक्षा गरिएको छ।
