ड्रागन बोट रेस प्रतियोगिताः चीनको खेल, चीनकै बर्चश्व

fishtail hospital

नयाँलिपिः चीनको परम्परागत र मौलिक खेलमध्ये एक हो, ड्रागन बोट रेस । किंवदन्ती अनुसार ‘भूत भगाउने’ र शक्तिको प्रतीक मानिने उक्त खेल अघिल्लो वर्ष पोखरा भित्र्याइएको हो । सोही खेलको दोस्रो संस्करणमा चिनियाँ खेलाडी नै हावी भएका छन् ।

पोखराको फेवातालमा सोमबार सम्पन्न २०० र ५०० मिटर फाइनल रेसमा चिनको डोङग्वान लाओयू क्लब टिमले दोहोरो उपाधि जितेको छ । दोहोरो उपाधिसंगै उसले नगद १० हजार डलर हात पारेको छ ।

डोङग्वान लाओयू क्लबले २०० मिटरको निर्धारित दुरीमा च्याम्पियन हुँदा ५०० मिटरतर्फसमेत पदक भित्र्याएको छ । चिनकै युनान मिन्जु युनिभर्सिटी टिम दोस्रो भएको छ । त्यस्तै, लिआओचिङ यूनिभर्सिटी टिम तेस्रो हुन सफल भयो । सोही स्पर्धामा युनान प्रान्तको नर्मल विश्वविद्यालयले चौथो स्थान हात पार्न सफल भयो ।

यता, ५०० मिटर ड्रागन बोट रेसमा लिआओ चेङ युनिभर्सिटी टिम दोस्रो बनेको छ भने यूहान युनिभर्सिटी टिम तेस्रो भएको छ ।

अघिल्लो वर्ष पोखराको टोलीले दोस्रो स्थान हात पारेको थियो । यसपटक झन कडा मेहेनत गरेपनि उक्त टोली पदकविहीन हुन पुगेको छ ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर विजेता टोलीले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद ५ हजार अमेरिकी डलर, उपविजेताले २ हजार डलर र तृतीय भएको टोलीले एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन् भने अन्य सहभागि टिमहरुलाई जनही नगद ५ सय डलर प्रदान गरिएको आयोजकले जनाएको छ ।

Exit mobile version