नयाँलिपिः लेखनाथ नगरपालिका र लेखनाथ उद्योग वाणिज्य संघले २० वर्ष अघिदेखि सुरु गरेको लेखनाथ महोत्सवको पछिल्लो संस्करण यही १८ गतेदेखि सुरु हुँदैछ ।
लेखनाथ क्षेत्रकै गौरव मानिने उक्त महोत्सवबारे आयोजक लेखनाथ उद्योग वाणिज्य संघले आज पत्रकार भेटमा सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । महोत्सव डाडाँकोनाक, तालचोकमा माघ १ गतेसम्म सञ्चालन हुनेछ ।
वाणिज्य संघकी महासचिव जानुका पराजुली अधिकारीले २०५९/६० मा सुन्तला प्रदर्शनी हुँदै २० औं लेखनाथ महोत्सवमा आइपुगेको बताइन् ।
‘महोत्सव लेखनाथको संस्कृति,स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मूल नारासहित हामी अहिले २० औं संस्करणको लेखनाथ महोत्सवको अन्तिम तयारी छौं, महासचिव अधिकारीले भनिन्, ‘२०५९÷६० मा सुन्तला प्रदर्शनी, २०६१ सालमा सुपथ मूल्य बजार र लेखनाथ महोत्सवको सफलतासँगै अहिले हामी अनवरत रुपमा महोत्सव सञ्चालन गर्दै आएका छौं ।’
महासचिव अधिकारीले पुस १८ देखि माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरूकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप र प्रविधि हस्तान्तरण, उद्यमशीलता, सिर्जनशीलतामा जोड, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरूमा उत्पादित वस्तु तथा सेवाहरूको प्रदर्शनी, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्ने उद्देश्य रहेको बताइन् ।
करिव २ सातासम्म सञ्चालन हुने महोत्सवमा ३ सय ३६ वटा स्टल निर्माण गरिएको महासचिव अधिकारीले जानकारी दिइन् ।