गाउँको अवस्था र बाटो देखाउन सुन्तला महोत्सव

नयाँलिपिः पर्वतको बास खर्क देशभरमै सुन्तला उत्पादनका लागि ख्याती कमाएको गाउँ हो । वर्षेनी १० करोड भन्दा बढी मूल्यको सुन्तला विक्री गर्दै आएको गाउँमा पहिलो पटक सुन्तला महोत्सवको आयोजना बाटो देखाउनका लागि गरिने भएको छ ।

गाउँसम्म पुग्ने दुखजिलो कच्ची बाटोको बिग्रेको अवस्था देखाउन र बाटोकै कारण गाउँलेले पाएको सास्तीबारे राजनीति नेतृत्वलाई सुनाउन सुन्तला महोत्सवको आयोजना गर्नु परेको आयोजकको भनाई छ । महोत्सव आयोजक मध्येका सुन्तला कृषक ६० वर्षे जगत खत्रीले जोखिमपूर्ण कच्ची बाटोले बढी दुःख दिएको भनी दुखेसो पोख्दै भन्नुभयो–गाउँको सुन्तला बगानबाट नै विक्री भएको छ ।

सुन्तला विक्री गर्ने भन्दा पनि कच्ची बाटो भएर उकालो ओरालो हिँड्दा सास्ती खेप्नु परेको वर्षौँ भयो । ज्यानको बाजी राखेर हिँड्नु परेको हाम्रो दुःख कसैले बुझेनन् । ढुवानी खर्च महँगो छ । मन्त्री, सांसद र राजनीतिक उच्च नेतृत्वहरूलाई पटक पटक गुनासो सुनाउँदा पनि सुनुवाइ नभएपछि महोत्सवको आयोजना गरी एकै ठाउँमा सबैलाई राखेर गाउँलेले पाएको दुःख बिसाउन लागेको हो ।

आयोजकका अनुसार यही माघ ११ गते आयोजना गर्न लागिएको सुन्तला महोत्सव सुन्तलाको व्यापार प्रवर्द्धन भन्दा पनि बास खर्क आवतजावत गर्न प्रयोग हुने कच्ची बाटोको अवस्था अवलोकन गराई बाटो निर्माण गरिदिन रचनात्मक दबाब दिनका लागि गर्न लागिएको हो ।

गाउँमा सुन्तला महोत्सवको आयोजना गर्न लागिएको जिल्लाको उत्तरी भेग जलजला गाउँपालिका वडा १ मा पर्ने बास खर्क गाउँबाट मात्रै यस वर्ष १३ करोड मूल्य बराबर सुन्तला उत्पादन हुने आङ्कलन गरिएको छ । गाउँका स्थानीय २५० घरधुरीका सदस्यहरू नै सुन्तलाको व्यावसायिक खेतीमा छन् ।

स्थानीयका अनुसार वर्षामा बास खर्क गाउँसम्म यात्रा गर्न नै सकिँदैन । हिउँदमा समेत कच्ची बाटोबाट यात्रा गर्न जोखिम छ । म्याग्दीको बेनी बजारबाट पर्वतको बगर फाँट हुँदै बास खर्क आइपुग्न जम्मा ५ किमी कच्ची बाटो पक्की हुन नसक्दा गाउँले वर्षौँदेखि दुःख पाउनु परेको छ ।

पर्वतको जलजला गाउँपालिकास्थित बास खर्क गाउँ । तस्बिर: प्रनिश

Exit mobile version