कठ्याङिग्रदो जाडोमा पनि निरन्तर अभ्यास, लक्ष्य ‘पहिलो’

दिपक के श्रेष्ठ

ड्रागन बोट रेस कम्पिटिसनको पहिलो संस्करणमा १ सेकेन्डले दोस्रो भएपछि अहिले विष्णु गुरुङको समूह पहिलो बन्ने योजनासाथ कम्मर कसेर लागिपरेको छ ।

यसअघि २ सय र ५ सय मिटरको रेसमा दोस्रो भएयता विष्णुसहित १४ जनाको टोली हौसिएको छ । त्यसपछि चीनको ग्वान्झाउमा भएको रेसमा पहिलो भएपछि उनीहरुले थप बल पाएका छन् । चीनमा १ सय र २ सय मिटरको रेसमा पहिलो स्थान हात पारेको उनले बताए ।

समूहमा विष्णुसहित सुजन पुर्वछाने, याक गुरुङ, किरण श्रेष्ठ, सुदिप प्रजा, सुरेन प्रजा, सौरभ राई, सुरेन राई, शमसेर गुरुङ, मिनबहादुर गुरुङ, मिनबहादुर गुरुङ ‘बी’, आशिष मगरलगायत छन् ।

उनीहरुको समूह यही १३ गतेदेखि हुने रेसमा सहभागी हुन बिहान र दिउँसो नियमित अभ्यासमा छन् । अघिल्लो पटकभन्दा यसपटक प्रतिष्पर्धा झनै कठिन हुने उनीहरुको ठम्याई छ । रेसमा नेपालबाट आठ टोली रहेका छन् । सहभागी प्रायः रिभर गाइड भएकाले उनीहरुको शारीरिक र मानसिकस्तर निकै उच्च भएको विष्णु गुरुङको समूह बताउँछन् ।

पहिलो संस्करणमा ८ लाख रुपैयाँ जितेपछि विष्णु भन्छन् ‘यस पटक फस्ट नै हान्ने हो ।’ प्रतियोगिताकैलागि भनेर जापान र युरोपियन मुुलुकमा ¥याफ्टिङ गाइडमा व्यस्त रहेका साथीहरु पनि फर्केर अभ्यासमा व्यस्त भएको उनले बताए । उनीहरुको समूहले देशैभरका नदीमा ¥याफ्टिङ गरिसकेका छन् ।

नेपालमा पहिलो पटक भएको ड्रागन रेसमा पनि यही समूह प्रथम भएको छ । बेगनासतालमा आयोजना भएको राष्ट्रिय प्रतियोगिताको २ सय र ५ सय मिटरमा पहिलो हुँदै ६ लाख रुपैयाँ हात पारेपछि उनीहरु यसपटक पहिलो भएर छाड्ने तर्खरमा छन् । दोस्रो प्रतियोगिता रारातालमा हुने पक्कापक्की भएको छ ।

लेखनाथको बेगनास र पोखराको फेवातालमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी २५ लाख रुपैयाँ रहेको आयोजकले जानकारी दिएका छन् । प्रतिष्पर्धामा सहभागी हुन छिमेकी मुलुक चीनबाट ११, सिंगापुरबाट १ टीम आउनेछन् भने बाँकी ८ स्थानीय टोली रहनेछन् ।

२० टिमले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताको विजेता टोलीले ५ हजार, दोस्रोले २ हजार र तेस्रो हुने टिमलाई १७ सय डलर पुरस्कार राशी दिइनेछ । प्रतियोगितामा ५ सय र २ सय मिटर स्पर्धामा प्रतिष्पर्धा हुनेछ ।

 

 

Exit mobile version