घनश्याम ढकालका विविध आयामबारे पोखरामा विचारगोष्ठी

-


     नयाँ लिपि    
     फागुन ६ गते २०७९ मा प्रकाशित



प्रगतिवादी साहित्यकार घनश्याम ढकालका विविध सिर्जनात्मक आयामबारे पोखरामा शनिबार (फागुन ६ गते) विचार गोष्ठी सम्पन्न भएको छ।

गण्डकी साहित्य सङ्गम, पोखरा र घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा मार्क्सवादी समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, प्रगतिवादी कवि तथा समालोचक डा. अमर गिरी, समालोचक डा. कृष्णराज अधिकारी, कवि कल्पना चिलुवालले घनश्याम ढकालको संस्कृति-चिन्तन, सौन्दर्य चिन्तन, आख्यान लेखन र जीवनी-व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो।

समालोचक चापागाईंले ढकालका फुटकर निबन्ध, लेख र अन्तर्वार्ताहरूमा व्यक्त उहाँको संस्कृति-चिन्तनको सान्दर्भिकताबारे चर्चा गर्नुभयो। डा. गिरीले मार्क्सवादी सौन्दर्य चिन्तनका क्षेत्रमा घनश्याम ढकालले पुर्याएको योगदानका सम्बन्धमा चर्चा गर्नुभयो। ढकालको आख्यान लेखन र प्रवृत्तिको विश्लेषण गर्दै समालोचक डा. कृष्णराज अधिकारीले जनयुद्धपूर्व, जनयुद्धअवधि र जनयुद्धोत्तर समयका कथामा पाइने विषेशताको पनि विवेचना गर्नुभयो। गोष्ठीमा कवि कल्पना चिलुवालले ढकालको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा सङ्गम सांस्कृतिक मञ्चका कलाकारहरू काजी गाउँले, विकास लुङ्गेली, रुपिन्द्र प्रभावी कटु लगायतले घनश्याम ढकालका गीतिरचनाहरू प्रस्तुत गर्नुभएको थियो। गायक विकास लुङ्गेलीले घनश्याम ढकालकै बारेमा तयार गरेको गीत “कमरेड घनश्याम, सम्मान तिमीलाई” पनि गोष्ठीमा प्रस्तुत गरिएको थियो। त्यस्तै, सङ्गीतद्वारा लयबद्ध तथा ढकालरचित “फेरि भेट हुँदैन” बोलको गीत गायक काजी गाउँलेले प्रस्तुत गर्नुभयो भने “भावनाका छालहरू” गीतिसङ्ग्रहबाट कवि कटुले लोकलयको गीत गाउनुभयो।

विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको भवनमा रहेको घनश्याम स्मृति कक्षमा भएको गोष्ठीमा घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका सचिव तथा कवि एवम् उपन्यासकार विष्णु भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो। गण्डकी साहित्य सङ्गम, पोखराका अध्यक्ष भीम रानाभाटले गोष्ठीको सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा पोखरा, पर्वत, बागलुङ र स्याङ्जाका साहित्यकार, लेखक, पत्रकार एवम् साहित्यअनुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतिष्ठान र सङ्गमले साहित्यकार ढकालको ११ओैं स्मृति दिवसका अवसरमा गोष्ठी सम्पन्न गरेको हुन्। कथा, निबन्ध, उपन्यास, समालोचना, कविता गरी डेढ दर्जन पुस्तक लेखन तथा सम्पादन गरेका साहित्यकार ढकालको २०६८ सालमा जनयुद्ध दिवस मनाउन जाँदै गर्दा मोटरसाइकलको ठक्करबाट काठमाडौंमा निधन भएको थियो। उहाँ प्रगतिशील लेखक सङ्घ, अखिल नेपाल लेखक सङ्घको तत्कालीन अध्यक्ष पनि हुनुहुन्थ्यो।