समृद्धिका लागि : गठबन्धन

-


     नयाँ लिपि    
     कार्तिक २० गते २०७९ मा प्रकाशित




पाँच दलीय गठबन्धनका साझा उमेदवारहरुले अबको पाँच वर्ष विकास, समृद्धि र सुशासनका लागि हुने बताएका छन् । कास्कीको निर्वाचन क्षेत्र नं. २ मा आफ्नो चुनावी अभियानका क्रममा उमेदवारहरुले यस्तो बताएका हुन् ।

गठबन्धनको तर्फबाट तर्फबाट कास्की क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले मुलुकलाई अप्ठ्यारो परेका बेला कम्युनिस्ट र काँग्रेसहरू एकदठाँउमा उभिँदै आएको बताए । ‘मुलुकलाई अप्ठ्यारो परेको बेला कम्युनिस्ट र काँग्रेसको कार्यगत एकता हुने गरेको छ, उनले भने, २००७ सालदेखि २०४६ हुँदै ६२–६३ सम्म आइपुग्दा कयौँ पटक काँग्रेस र कम्युनिस्टहरू एक ठाउँमा उभिएका छन् ।’

संविधान र व्यवस्थालाई नै ध्वस्त बनाउँदै मुलुकमा अराजकता सृजना गर्न खोजेपछि शान्ति र संविधानका लागि मुलुकका प्रमुख पाँच दलहरू बिचमा कार्यगत एकता गर्नुपरेको उम्मेदवार बरालले बताए । केन्द्र र प्रदेशमा बहुमत ल्याउँदै संविधान र व्यवस्थाको रक्षा मात्र होइन विकास र समृद्धिका लागि पनि गठबन्धन आवश्यक रहेको उनले बताए ।

‘यस वडाका सबै नागरिकहरूलाई खानेपानीको सहज उपलब्धताका लागि हामी गम्भिरतापुर्वक लाग्नेछौँ । यहाँको कृषियोग्य जमिनको सिँचाइका लागि मुलफाँटमा सिँचाइ योजना निर्माण गरिने छ । कृषिको पकेट क्षेत्रका रूपमा विकास गर्दै यहाँको कफीलाई विश्व बजार सम्म पुर्‍याउन विशेष पहल गर्नेछौँ, उम्मेदवार बरालले भने, पशुपालन र तरकारी बालीको विकासका लागि पनि हामीले निष्ठाका साथ काम गर्नेछौँ । युवा तथा महिलाहरूलाई उद्यमशीलतासँग जोड्दै अगाडी बढ्ने हामी प्रतिबद्धता व्यक्त गर्दछौँ ।’

गठबन्धनका तर्फबाट प्रदेशसभा २ (क) का उम्मेदवार विश्वप्रकाश लामिछानेले पोखराको ग्रामीण क्षेत्रको विकास गर्न आफूले पहल गर्ने बताए । पोखरा ३३ भरत पोखरी, माला गिरीमा पाँच दलीय गठबन्धनले आयोजना गरेको चुनावी अभियानमा लामिछानेले भरत पोखरी क्षेत्र महानगर बने पनि महानगरवासीले प्राप्त गर्ने सेवाबाट वञ्चित हुनुपरेकाले आफू निर्वाचित भएमा समान विकासमा जोड दिने बताए । आफ्नो योजना ५ दलको साझा कार्यक्रम भएकाले गठबन्धनले जित्नुपर्ने उनले बताए ।

‘विजय भए पनि नभए पनि ५ वर्ष जनताको साथी र अभिभावक भएर साना र ठुला समस्या समान गर्न पहल गर्नेछु, अघिल्ला निर्वाचितहरुले शिक्षा, स्वास्थ्य लगायतका विकासको क्षेत्रमा भने जति ध्यान दिएका छैनन्, उनले भने, यस क्षेत्रलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न गठबन्धनमा सहभागी हामी सबैले विशेष पहल गर्नेछौँ ।’ पार्टी भन्दा पनि प्रावि जस्तो भएर मुलुकको संविधान धरापमा परेको कारण गठबन्धनको परिकल्पना गरिएको बताए ।

यस्तै गठबन्धनका तर्फबाट प्रदेशसभा २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले अबको आफूहरूको पाँच वर्षे कार्यकाल विकास, समृद्धि र सुशासनको कार्यकाल हुने बताए । ‘अव विकास र समृद्धिको कार्यकाल हो । अबको पाँच वर्ष भनेको हामी विकास र समृद्धि गर्ने हो । पारदर्शिता ल्याउने हो र सुशासन कायम गर्ने हो, उम्मेदवार थापाले भने, भष्टाचारलाई न्यूनीकरण गर्दै लैजाने हो । त्यस कारण सुशासन र समृद्धिका लागि यो गठबन्धन निर्माण गरेका छौँ ।’

उम्मेदवार थापाले आफूहरू स्थानीय नागरिकहरूले झेलिरहेको विकासको अवरुद्धता प्रति जानकार रहेको बताए । ‘र्‍यालेबाट आँटी घर मौजासम्मको मूल सडक धेरै वर्ष अलपत्र परेर यहाँका जनताले निकै दुख पाइरहनु भएको छ । यसमा महानगरपालिका र प्रदेश सरकारको तर्फबाट पनि केही बजेटको व्यवस्था गरिएको छ, थापाले भने, तथापि यो निर्माण सम्पन्न गर्नका लागि पर्याप्तता होइन । यसका अलवा शिक्षा, स्वास्थ्य र यहाँका सहायक सडकहरू लगायतको लागि मङ्सिर पछि गतिका साथ काम हुनेछन् ।’ तिनै तहको सरकारमा गठबन्धनको नेतृत्वले विकास र समृद्धिका लागि थप पहल गर्न सहज हुने भएकाले पनि आफूहरूको जित आवश्यक रहेको थापाले बताए ।

चुनावी अभियानको क्रममा रहेका गठबन्धनका उमेदवारहरुसंग स्थानीय नागरिकहरूले आफूहरू बाटोघाटोको असुविधा, खानेपानी, सिँचाइ लगायतको समस्याबाट पीडित बनेको बताएका छन् । ‘हामीलाई खानेपानीको ठुलो समस्या छ । बाटोघाटोको असुविधा झेलिरहेका छौँ । यसमा यहाँहरूको ध्यान जाओस् ।’ उनीहरूले भने ।