पोखरा, १७ कात्तिक
नेकपा माओवादी केन्द्रका नेता एवं गठबन्धनको तर्फबाट कास्की २(१) का उम्मेदवार विश्वप्रकाश लामिछानेले आफूहरुका प्रतिवद्धता चुनावी एजेन्डामात्र नभएको दाबी गरेका छन् । उनले विगतमा आफूले गरेका कामको फेहरिस्त पेश गर्दै सक्नेमात्र प्रतिवद्धता गर्ने र जित भएमा ती प्रतिवद्धता पूरा गर्ने जनाए ।
लामिछानेले भने, ‘जे बोलिन्छ, प्रतिवद्धता जनाइन्छ, त्यो पूरा गर्छाैं । २१ औं शताब्दीका जनतालाई झुक्याएर जनमत आफ्नो पक्षमा पार्न खोज्नेलाई जनताले चिन्नुभएको छ ।’
पोखरा ३३ मा भएको चुनावी सभामा लामिछानेले कोत्रे, पुँडीटार, बागमारा, कृस्ती हुँदै चक्रपथ निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘महानगरमा पछि थपिएको यो क्षेत्रका बासिन्दालाई महानगरको अनुभूति दिन चत्रपथ निर्माणसँगै व्यवस्थित सहरीकरण र कृषिको व्यवसायीकरण जरुरी छ ।’ विज्ञहरुसँग छलफल गरी उपयुक्त योजना बनाएर यो क्षेत्रको विकास गर्ने योजना उनले सुनाए ।
कास्की निर्वाचन क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले आफूले २० दशकअघि जिविस उपसभापति हुने समयमा बनाएको बाटो अझै उस्तै रहेकोमा औंल्याए । बरालले भने, ‘यो बाटो स्तारोन्नतिसहित स्थानीयको सहमतिमा आद्योगिक गाम बनाउन पहल गर्ने छौं ।’
भूमिहीन र अव्यवस्थित बसोबासीलाई चुनावलगत्तै लालपुर्जा वितरण पालिकाले गर्ने उनले बताए । बरालले आफू इमान्दार एमाले नेता, कार्यकर्ताको पनि उम्मेदवार रहेको तर्क गरे । यसअघि पटकपटक एमाले उम्मेदवार जिताउनका मत मागेको तर मत पाएकाले जनअपेक्षा अनुरुप काम नगरेकाले एमालेबाट विद्रोह गर्नुपरेको उनको जिकिर छ ।
‘म ५ दलको सझा उम्मेदवार त हुँदै हुँ । इमान्दार एमालेका नेता, कार्यकर्ताको पनि उम्मेदवार हुँ । जनताको अपेक्षा अनुरुप काम गर्नेछु,’ उनले भने । बरालले पुँडिटारमा औद्योगिक क्षेत्र स्थापना गर्ने, सुकुम्बासी र अव्यवस्थित बासोबासीको सही ढंगले व्यवस्थापन गर्ने, खानेपानी र मोटरबाटोको स्तरोन्नति र विस्तारमा आफूले जोड दिने बताए ।
नेपाली कांग्रेसका नेता देवराज चालिसेले गफ दिनेलाई होइन, काम गर्नेलाई जनताले चुन्नुपर्ने उल्लेख गरे । उनले औषधी, माक्स र सेनिटाइजरमा समेत भ्रष्टाचार गर्नेहरुसंग जनता सचेत बन्नुपर्ने बताए । नेकपा एमालेको नेतृत्वको सरकारले ठूला ठूला भ्रष्टाचारका काण्ड मच्याएको आरोप लगाउँदै उनले स्थिरता र सुशासनका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिए ।